हेडलाईनसमाचारगण्डकी

मोदीको लाङ्दी पहिरोले लियो ज्यान: वृद्ध दम्पतीको शव फेला, नदी किनारका बासिन्दालाई उच्च सतर्कता रहन आग्रह

प्रहार समाचार । पर्वत , ४ साउन २०८२ आइतवार । प अविरल वर्षासँगै आएको पहिरोले पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दी बस्तीमा विपत्ति निम्त्याएको छ । पहिरोले घरमै सुतिरहेकी वृद्ध दम्पतीको ज्यान लिएको छ ।

पहिरोमा पुरिएका ८२ वर्षीय छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमती विश्वकर्माको शव शनिबार बिहान उद्दार टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक सुवास लामिछानेले भने, “राति करिब १ बजेतिर पहिरो आएको थियो । टेलिफोन सम्पर्क नहुँदा जानकारी ढिला भयो । बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र रेडक्रस स्वयंसेवकको सहकार्यमा खोजी गरिएको थियो ।”

प्राकृतिक प्रकोपको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको भन्दै स्थानीय जनप्रतिनिधिले सुरक्षाका उपायहरू तत्काल अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । मोदी गाउँपालिका अध्यक्ष खगराज पन्तका अनुसार बस्तीको माथिल्लो भेगमा पहिरोको खतरा निकै देखिएको छ ।

“बस्ती संरक्षणको दीर्घकालीन योजना नभएसम्म यस्ता दुर्घटना दोहोरिरहन्छन्,” अध्यक्ष पन्तले भने, “हामी तत्कालका लागि जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारीमा छौँ ।”

वर्षाका कारण मोदी, पाती, सेती, मर्स्याङ्दी, लमाए खोला र कालीगण्डकी नदीको जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अझै केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ र नदी किनार आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्थानीय बासिन्दा पूर्णप्रसाद थापाले भने, “पानी नरोकिने र राति निदाउन नसक्ने अवस्था छ । हरेक घण्टा बग्ने खोलाको स्वर बढिरहेको छ, डरैडरमा बसिरहेका छौँ ।”

यस वर्षको मनसुन सुरु भएयता पर्वत र आसपासका जिल्लामा पहिरो, बाढी र डुवानका घटनाहरूमा वृद्धि भएको छ । विपद् व्यवस्थापनमा अझ बढी तयारी आवश्यक रहेको स्थानीय समाजसेवीहरूले बताएका छन् । यसैबिच वर्षाकै कारण अहिले धेरै क्षेत्रका नदि र खोलाहरुमा ठूलो बढि आइरहेको छ भने पानी अझै सोमवार र मङ्गलवार सम्म पर्ने मौसमविद्हरुको भनाई रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button