प्रहार समाचार । तनहुँ, ३२ असार २०८२ बुधवार । लामो समयको प्रतीक्षापछि अन्ततः मधेश प्रदेशमा पनि मनसुन सक्रिय बनेको छ। मङ्गलवार रातिदेखि मधेशमा वर्षा शुरू भएको मौसम विज्ञान विभागले जनाएको छ। यसअघि कोशी र मधेशमा मनसुन सक्रिय हुन नसक्दा व्यापक रुपमा धान रोपाइँ प्रभावित बनेको थियो। अब भने लगातार वर्षा गराउने प्रणाली विकसित हुँदै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले किसानहरूका लागि राहतको संकेत देखाएको छ।

आज दिउँसो कोशीका केही स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ। साथै, मधेश, वाग्मती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने जनाइएको छ। कोशी र मधेशका केही क्षेत्रमा हावाहुरी पनि चल्न सक्ने पूर्वानुमान गरिएको छ। यसैबीच, रातको समयमा पनि कोशी, मधेश र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। पश्चिम क्षेत्रमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ भने पूर्वमा भने यो रेखा सामान्यभन्दा केही उत्तरतर्फ सरेको छ। उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावनासमेत देखिएको छ। जलवायुको यो परिवर्तनले ढिलो भए पनि कृषक समुदायमा उत्साह जगाएको देखिन्छ।















