•विवेक श्रेष्ठ / प्रहार समाचार । तनहुँ, ३० असार २०८२ सोमवार। तनहुँको ऋषिङ गाउँपालिका–४, भिरकाटेमा निर्माण सम्पन्न भएको नयाँ वडा कार्यालय भवनको उद्घाटन पूर्व वन तथा भू–संरक्षण मन्त्री तथा संघीय सांसद शंकर भण्डारीले गरेका छन्। त्यस अवसरमा बोल्दै भण्डारीले सुशासन, सेवा प्रवाह र स्थानीय विकासमा यस्तो पूर्वाधारले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य जितप्रकाश आलेले स्थानीय तहको सुदृढिकरणमा यस्ता संरचनाहरू अपरिहार्य रहेको भन्दै जनताको पहुँचमा सरकार पुगोस् भन्ने उद्देश्यले वडा कार्यालय बनेको बताए ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भवनको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएकामा सबैमा आभार प्रकट गर्दै स्थानीय प्रशासनको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्प पराजुलीले स्थानीयस्तरमा विकास निर्माणले गति लिएको उल्लेख गर्दै भौतिक पूर्वाधारसँगै जनउत्तरदायी सेवा प्रवाहमा पनि सुधार हुनुपर्ने धारणा राखे ।
कांग्रेसका केन्द्रीय सदस्य पुष्प पराजुलीले स्थानीयस्तरमा विकास निर्माणले गति लिएको उल्लेख गर्दै भौतिक पूर्वाधारसँगै जनउत्तरदायी सेवा प्रवाहमा पनि सुधार हुनुपर्ने धारणा राखे ।


गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले अतिथिहरूलाई स्वागत गर्दै भवन निर्माणमा संलग्न सबै पक्षलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत अनिल अमगाईं नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति डा. कृष्णप्रसाद गौतम, देवी श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर बहादुर बिक, नेपाली कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर आले, पूर्व वडा अध्यक्ष भोजराज रानाभाट लगायतले आआफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा वडामा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो। वडा अध्यक्ष प्रेमराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि, पदाधिकारी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण वडा सचिव सन्दीप श्रेष्ठले गरेका थिए ।

साविक गाउँ विकास समितिको अवधिमा निर्माण भएको सो भवन निर्माणमा रु २७ लाख खर्च गरिएको थियो। गाउँपालिका पुनःसंरचनापछि सोही भवनलाई उपयोग गर्दै थप रु ३० लाखको लगानीमा कम्पाउन्ड र दोस्रो तला थपिएको छ। यससँगै कुल लागत र ५७ लाख पुगेको वडाले जनाएको । २०७४ सालअघि निर्माण गरेको एकतले भवनलाई विस्तार गर्दै ऋषिङ गाउँपालिका–४ को वडा कार्यालय अब आधुनिक सेवासुविधासहितको दुईतले संरचनामा रूपान्तरण भएको छ।


















