प्रहार समाचार । तनहुँ, २७ असार २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिका–१, भादगाउँमा खुकुरी प्रहार गरी एक व्यक्तिलाई घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार साँझ भएको घटनापछि प्रहरीले १९ वर्षीय विशाल मल्ल ठकुरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ५६ वर्षीय सिद्धबहादुर ठकुरी र विशालबीच आपसी विवाद चर्किएपछि घटनाले उग्र रूप लिएको हो। झगडाको क्रममा विशालले खुकुरी प्रहार गर्दा सिद्धबहादुर घाइते भएका थिए। घाइते ठकुरीको अहिले दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनापछि फरार रहेका विशाललाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको र हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोक थापाले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा घटनाको कारण व्यक्तिगत रिसइवी देखिएको प्रहरीले बताएको छ।
























