प्रहार समाचार । काठमाडौँ, २७ असार २०८२ शुक्रवार । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। आज बसेको कार्यपालिका बैठकमा बजेट प्रस्तुति तयारी अन्तिम चरणमा पुगेको संकेत दिइएको हो। प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४०औं कार्यपालिका बैठकले आइतबार (असार २९) दिउँसो २ बजे अर्को बैठक बोलाउने निर्णय गरेको छ।

बजेट प्रस्तुति लागि छुट्टै बैठक डाकियो :
बैठकमा महानगर प्रमुख शाहले २४ वटा एजेन्डामध्ये एकमात्र बजेटसम्बन्धी एजेन्डा प्रस्तुत गर्दै सोही विषयमा थप छलफल र निर्णयका लागि छुट्टै बैठक बोलाइएको जानकारी गराएका थिए। आइतबार बिहान ९ बजे कार्यपालिका बैठक र त्यसपछि दिउँसो २ बजे विशेष बैठक बस्ने कार्यक्रम तय भएको छ।

महानगरको बजेटका प्राथमिकतामा के के छन् ?
क महानगरपालिकाको बजेटले पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, डिजिटल सेवा विस्तार र सामाजिक कल्याणका क्षेत्रमा विशेष प्राथमिकता दिने संकेत स्रोतले बताएका छन्। यद्यपि विस्तृत विवरण आइतबार मात्र सार्वजनिक हुनेछ। गत वर्षको तुलनामा बजेटको आकार केही बढाइएको बताइएको छ, जसले महानगरको दीर्घकालीन योजनाहरूलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।
























