प्रहार समाचार, तनहुँ, २५ असार २०८२ बुधवार । वैदिक परम्पराको संरक्षण र संवर्धनका लागि समर्पित वैदिक पुरोहित समाज तनहुँको सातौँ साधारणसभा तथा पाँचौँ अधिवेशन व्यास गुफा परिसर, दमौलीमा आज सम्पन्न भएको छ। अधिवेशनले पं तुलसीराम उपाध्यायलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षहरूमा पं चन्द्रप्रकाश पौड्याल र पं तुलसी प्रसाद ढुङ्गाना चयन भएका छन् भने सचिवमा पं श्रीभद्र न्यौपाने, सहसचिवमा पं पुरुषोत्तम सोती, र कोषाध्यक्षमा पं देवराज भट्टराई शर्मा निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा पं श्रीप्रसाद भट्टराई, पं सुवर्णभद्र आचार्य, पं रामचन्द्र गौतम, पं दिपेन्द्र अधिकारी र पं मोहनराज अधिकारी रहेका छन्।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले वैदिक सनातन हिन्दू धर्मको संरक्षण, सुशासन र सामाजिक सद्भाव कायम गर्न पुरोहित वर्गको अग्रणी भूमिका हुने धारणा व्यक्त गरे।

वेदानुयायी प्रतिष्ठानका अध्यक्ष पं कृष्णकान्त काफ्लेले ब्राह्मण धर्ममा आस्था, निष्ठा र मर्यादाको आवश्यकता औंल्याउँदै लोभ, मोह र प्रभावमा विचलित हुने प्रवृत्तिले धर्म कलंकित हुने चेतावनी दिए।
संस्थाका संरक्षक व्यास अन्नक्षेत्रका गुरु दामोदर बाबा र व्यासका अध्येता काशीनाथ न्यौपानेले ब्राह्मण चरित्र, शुद्ध आचरण र वैदिक मार्गदर्शन जीवनमा आत्मसात् गर्नुपर्नेमा जोड दिए। उनीहरूले नित्य कर्म, संध्यावन्दन, वेदपाठ तथा शुद्ध उच्चारणमार्फत बौद्धिक समृद्धि हासिल गर्नुपर्ने बताए।
संस्थापक पं सुदर्शन न्यौपानेले समाजमा भजन, कीर्तन र संस्कार शिक्षामार्फत सकारात्मक ऊर्जा प्रवाह गर्न पुरोहित वर्गको सक्रियता आवश्यक रहेको धारणा राखे।

अधिवेशनमा ब्राह्मण समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, परोपकार महासंघका अध्यक्ष तारानाथ घिमिरे, व्यास क्षेत्र विकास कोषका अध्यक्ष प्रेम प्रकाश भट्टराई तथा ब्राह्मण समाजका पूर्व केन्द्रीय सदस्य डा. लक्ष्मीकान्त चापागाईं लगायतका अतिथिहरूले वैदिक परम्परा संरक्षणमा वैदिक पुरोहित समाज तनहुँको योगदानको प्रशंसा गरे। कार्यक्रमको सहजीकरण समाजका सचिव श्रीभद्र न्यौपानेले गरेका थिए।

























