प्रहार समाचार । तनहुँ, २५ असार २०८२ बुधवार । तनहुँको म्याग्दे गाउँपालिका–७ धयराघारीका पूर्ण अपाङ्गता भएका दिपक भण्डारी अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चितताको मागसहित आन्दोलनरत छन्। राज्यबाट निर्माण भएको अपाङ्गता ऐन २०७४ र त्यसअनुसारको नियमावलीको पूर्ण कार्यान्वयनको माग गर्दै वडा, गाउँपालिका हुँदै काठमाडौंसम्म धर्ना, अनशन र आन्दोलनमा होमिएका भण्डारी अहिले खगेन्द्र नवजीवन केन्द्रमा बसेर आफ्ना मागहरुमा प्रतिबद्ध छन्। हजारौं अपाङ्गता भएका व्यक्तिहरुको साथ र समर्थन पाएका भण्डारीको यो अभियानमा म्याग्दे गाउँपालिकाले पनि चासो र सहानुभूति प्रकट गरेको छ ।

अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलासँगको भेटमा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भण्डारीप्रति शुभेच्छा प्रकट गर्दै अपाङ्गता भएका व्यक्तिहरुको दीर्घकालीन व्यवस्थापनका लागि अपाङ्गतामैत्री भवन निर्माणको योजना अगाडि बढाइएको जानकारी दिए। उनका अनुसार ३० जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी खाने, बस्ने, उपचार, सुरक्षालगायत सम्पूर्ण सेवासुविधासहितको भवन निर्माणको लागि डिपिआर तयार भइसकेको छ, जसमा १०–१२ करोड लागत अनुमान गरिएको छ। मासिक रूपमा रु. ४ लाख संचालन खर्च गाउपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्न इच्छुक निकायहरुलाई समेत आव्हान गरिएको छ।
गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी र वडा अध्यक्ष बसन्त श्रेष्ठले पनि भण्डारीको अभियानप्रति सहानुभूति प्रकट गर्दै स्थानीय तहबाट स सहयोग गरिएको र केन्द्रीय तथा प्रदेश सरकारको समर्थन अभावका कारण धेरै योजना कार्यान्वयनमा कठिनाइ भएको बताए। हाल म्याग्देमा ३८ जना रातो परिचयपत्रधारी पूर्ण अशक्त अपाङ्गता भएका छन्, जसलाई लक्षित गरी दीर्घकालीन र व्यवस्थित व्यवस्थापन गर्न खोजिएको जनाइएको छ।
























