• सुशिल लमगादे (बि. क.) प्रहार संवाददाता / तनहुँ, २२ असार २०८२ आइतवार । नेपाल सरकारद्वारा सुनचाँदी व्यवसायमा लागु गरिएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध तनहुँका सुनचाँदी व्यवसायीहरूले चरणबद्ध आन्दोलनलाई तीव्र बनाएका छन्।

नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र तनहुँ जिल्ला समितिको संयुक्त निर्देशनमा आज संयुक्त विरोध प्रदर्शन, मौन र्याली तथा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टे धर्ना सम्पन्न भयो।

तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरी गहतराजका अनुसार यसअघि पनि विरोध ऱ्याली, बजार परिक्रमा, ज्ञापनपत्र बुझाउने र पत्रकार सम्मेलनजस्ता कार्यक्रम गरिँदै दोस्रो चरणको आन्दोलनमा प्रवेश गरिएको हो। गहतराजले सरकारको अव्यवहारिक कर नीतिले व्यवसाय नै धरापमा पर्ने खतरा देखिएकाले माग पुरा नभएसम्म संघर्ष जारी राखिने बताए।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ तनहुँका अध्यक्ष रामु सुनारका अनुसार मौन ऱ्यालीमा “सुनमा लगाइएको २% विलासिता कर खारेज गर”, “हिरा पत्थरमा १३% भ्याट खारेज गर” लगायतका नारा लेखिएका प्लेकार्डसहित व्यवसायीहरू सहभागी थिए। उनीहरूले कर नीतिको पुनरावलोकन नगरे व्यवसायीहरू थप सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।
























