प्रहार समाचार । काठमाडौँ, २० असार २०८२ शुक्रवार । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। ललितपुरको गोदावरी नगरपालिका–१४, बाँडेगाउँमा बस्दै आएका चितवन भरतपुर महानगरपालिका–१० घर भएका ३३ वर्षीय गुञ्जन राईलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

पीडितको तस्बिर तथा भिडियोसहित फेसबुकमा आपत्तिजनक स्टाटस र कमेन्टहरू लेखेर मानमर्दन गरिएको उजुरीका आधारमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको बाँडेगाउँबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप लिएको छ।
प्रहरीका अनुसार राईले सामाजिक सञ्जालमा पीडितको चरित्र हत्या हुने खालका सामग्रीहरू सार्वजनिक गर्दै गम्भीर मानसिक, सामाजिक र पारिवारिक क्षति पुर्याउने प्रयास गरेका थिए। हाल यस विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

























