
एक जोर गोरुले तानेर
खट्याक् खट्याक् आवाज निकाल्दै
बालुवा, ढुङ्गा, गिट्टी र दाउरा
ओसार्दै हिँड्ने ती गोरुगाडा
यदि देखेका थिएनौ भने, मान
तिमीले असली दमौली देखेकै रहेनछौ।

बुल्दी खोलाको पुल तरेर
बजार छिर्दै गर्दा
रोडको मुन्तिर टिनको छानो भएको
टहरामा, सधैँ कालो धुवाँ फाल्दै
छुक्छुक् आवाज निकालेर
धान कुट्ने र तोरी पेलिरहने
‘मोतिकुमार’ को मिल देखेका थिएनौ भने, मान
तिमीले असली दमौली देखेकै रहेनछौ।
सफा सडक त धेरै पछि बनेको हो,
मेनरोडको चोकबाट प्रशासन भवनतिर जाँदा
रोडको दायाँबायाँ, घुँडा-घुँडा आउने
पानीको रहमाथि लहरै बनाइएका
काठका झुपडी पसलमा गएर
चुरा लगाएका थिएनौ,
या दुई रुपैयाँ तिरेर कपाल काटाएका थिएनौ भने, मान
तिमीले असली दमौली देखेकै रहेनछौ।
मेनरोड छेउको अप्सरा फोटो स्टुडियो,
दोस्रो चोकनजिकको सम्झना फोटो स्टुडियो,
वा बिजी फोटो स्टुडियो मा गएर,
ताल वा पहाडको यामान पोस्टरको
पृष्ठभूमिमा फोटो खिचाएका थिएनौ भने, मान
तिमीले असली दमौली देखेकै रहेनछौ।
आठफुटे जमीन छाडेर
दुईपाखे स्लेटका छाना हालेर बनाइएका घर हुन् कि,
टोलटोल घुम्दै
जे भेटियो, त्यही खाँदै हिँड्ने जिङ्रिङ्ग कपाल र दाह्री भएका ‘बासीभाते’ हुन्,
गाइजात्राका रोपाइँ जात्रा हुन् कि
रोडमाथिको ‘मेनका’ हल मा हेरिने पुराना फिल्महरू
यी कुनै पनि देखेका थिएनौ भने, मान
तिमीले असली दमौली देखेकै रहेनछौ।

ठूला एकादशी मेला र तिजमा
आमा, दिदी, बहिनीहरुसङ्गै
पछि पछि लाग्दै
निलो जाँगे, पायल/ हात्तिछाप चप्पल लगाएर
प्रशासन कार्यालयको आँगन तथा
बेलको चौतारामा नारि वेदनाका तिजको गीत घन्किंदा होस्,
ठूलो एकादशी मेलामा बेनी बजारमा
बदाम, भट्ट, चिउरा, सखरखण्ड खाँदा होस्,
भकारी, मन्द्रा, डाला तथा थुम्से किन्दा होस्
कछार तिरका ठूला ठूला रसिला सुन्तला खाँदै गरेको
यी कुनै पनि देखेका थिएनौ भने, मान
तिमीले असली दमौली देखेकै रहेनछौ।
– (• डा. सेढाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,नेफ्रोलोजी विभाग, वीर अस्पताल
काठमाडौंका प्राध्यापक हुन्। )

























