प्रहार समाचार । तनहुँ, १२ असार २०८२ बिहिवार । व्यास नगरपालिका वडा नं. ११ स्थित बेल्टारी शहरी स्वास्थ्य केन्द्रमा भोली असार १३ गते (शुक्रबार) छाती रोग सम्बन्धी निशुल्क खोजपड्ताल शिविर सञ्चालन गरिने भएको छ। पोर्टेबल एक्सरे प्रविधिबाट छातीको प्रारम्भिक अवस्था परीक्षण गर्न मिल्ने यो शिविर व्यास नगरपालिकाको आयोजनामा सञ्चालन हुन लागेको हो ।

व्यास नगरपालिकाको आयोजनामा र वडा कार्यालय व्यास ११ को समन्वयमा हुने उक्त ल शिविरमा विशेष प्राथमिकता ५० वर्ष माथिका अभिभावकहरू, इट्टा भट्टीका कामदार, ज्यालादारी मजदुर, दीर्घकालीन रोगी, रक्सी–जाँड सेवन गर्ने र दीर्घकालीन खोकी लाग्ने व्यक्तिहरूलाई दिएको छ। शिविरमार्फत क्षयरोगजस्ता रोगहरू पहिचान गरी समयमै उपचार सुरु गर्न सकिने जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए।

शिविरमा पायक पर्ने अन्य वडाका वासिन्दाहरूलाई पनि स्वास्थ्य परीक्षणका लागि सहभागी हुन व्यास ११ का वडा अध्यक्ष दल बहादुर दुराले आह्वान गरेका छन् । छातीको समस्या भए–नभएको पहिचान र रोकथामका लागि अत्यन्त उपयोगी मानिएको पोर्टेबल एक्सरे सेवा यस पटक निःशुल्क उपलब्ध गराइने भएकाले नगरवासीहरूलाई सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ।
























