प्रहार समाचार । तनहुँ, १० असार २०८२ मङ्गलवार ।
व्यास नगरपालिकाको ४३औं नगरसभा नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज नगरसभा कक्षमा सम्पन्न भएको छ। सभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेटसहित विभिन्न विधेयकहरू पारित गरिएको छ।

सभाको प्रारम्भमा नगर प्रमुख न्यौपानेले आगामी वर्षका लागि तयार पारिएको ३०३ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरे । प्रस्तावमाथि नगरसभा सदस्यहरू गौकुमारी न्यौपाने, जगतबहादुर क्षेत्री, हरिश्चन्द्र पन्थ, सरोज भण्डारी, रनसिंह नेपाली, सुन्दर वाग्ले, ढालप्रसाद घिमिरे, यज्ञ शर्मा, दुर्गा आले र जीवन गुरुङले सुझावसहित धारणा राख्दै विस्तृत छलफल गरिएको थियो । छलफलपछि नगर प्रमुखले संशोधनसहित सो नीति तथा कार्यक्रम पारित गरिदिन प्रस्ताव गरे, जुन सर्वसम्मतिले पारित भयो।

त्यसपछि नगर उपप्रमुख इन्दिरा दरैले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ७५ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट प्रस्ताव गरिन्। । सोमध्ये चालू खर्चतर्फ ५५.८५ प्रतिशतअर्थात् ९८ करोड २० लाख रुपैयाँ, र पुँजीगततर्फ ४४.१५ प्रतिशत अर्थात् ७७ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै उपप्रमुख दरैले आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ पनि सभामा प्रस्तुत गरिएको थियो।

त्यस्तै, विधायन समितिका संयोजक रमेशचन्द्र हड्ङ्खले व्यास नगरपालिकाका केही ऐनहरू संशोधन गर्नुपर्ने विधेयक प्रस्ताव गरेका थिए ।य

सभाको अन्त्यमा नगर प्रमुख एवं सभाध्यक्ष वैकुण्ठ न्यौपानेले आजको नगरसभा स्तगन गर्दै आगामी असार २४ गते बिहान ११ बजे पुनः बस्ने जानकारी दिएका थिए । कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष सुरेश थापाले धन्यवाद ज्ञापन गरेका थिए ।



























