हेडलाईनसमाचारगण्डकी

‘पत्रकारिता सत्य, तथ्य र प्रमाणमा आधारित हुनुपर्छ ।’ – मुख्यमन्त्री पाण्डे

प्रहार समाचार । कास्की, १० असार २०८२ मङ्गलवर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता सुनेको भरमा वा सामाजिक सञ्जालमा आएको सूचनाका आधारमा गर्न नहुने बताएका छन्।

आज पोखरामा आयोजित ‘सूचना मागौं : भ्रष्ट्राचार अन्त्य गरौं’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पत्रकारहरूले कम्तीमा पनि समाचार लेख्दा सत्य, तथ्य र प्रमाणमा आधारित भएर सरकारका राम्रा र नराम्रा पक्ष उजागर गर्नुपर्नेमा जोड दिए। पत्रकारिताले लोकतन्त्रलाई मजबुत बनाउने भूमिका खेल्ने भन्दै मुख्यमन्त्री पाण्डेले पत्रकारहरूलाई जिम्मेवार भएर लेख्न आग्रह गरे।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद वागचनले पत्रकारिता आस्था र विचारभन्दा माथि उठी समाजका विकृति, विसङ्गति र बेथिति विरुद्ध निर्भीक कलम चलाउनु पर्नेमा जोड दिए।

महासंघका उपाध्यक्ष तारा बहादुर भण्डारीले कार्यक्रममा बोल्दै नागरिकलाई जुनसुकै कार्यालयको सूचना माग्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताए। सूचना मागेर मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने भन्दै उनले प्रमाणमा आधारित पत्रकारिताको अभ्यास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन पोखराका अध्यक्ष शलिग्राम भट्टराई, नागरिक समाजका प्रतिनिधि आनन्दराज मुल्मी लगायतले पत्रकारिताले सत्य, तथ्य र प्रमाणलाई आधार बनाएर समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे। प्रेस रजिष्टार बिमला भण्डारीले के सूचना हो र के समाचार हो भन्ने छुट्याएर नागरिक केन्द्रित र सन्तुलित रिपोर्टिङको आवश्यकता औंल्याइन्। उनले सकारात्मक सन्देश प्रवाह हुने गरी जनताको आवाज उठाउने पत्रकारिता हुनुपर्ने बताइन्।

वरिष्ठ पत्रकार नारायण कार्कीले सत्य, तथ्य, अनुसन्धानमूलक, उत्तरदायी र सन्तुलित पत्रकारिता समाज र राष्ट्रका लागि अपरिहार्य रहेको बताए। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले नागरिकका पक्षमा कलम चलाउनु पत्रकारको प्रमुख दायित्व भएको उल्लेख गरे।

महासंघका महासचिव पूर्णप्रसाद मिश्रले सहजीकरण गरेको ग कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको आयोजनामा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button