हेडलाईनसमाचारप्रदेश

मानव अधिकार संरक्षणमा प्रहरीको भूमिका महत्वपूर्ण रहने

प्रहार समाचार । काठमाडौँ, ८ असार २०८२ आइतवार । अपराध नियन्त्रण सङ्गै मानव अधिकार संरक्षणमा प्रहरीको महत्वपूर्ण भूमिका रहनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोग द्वारा आइतबार “मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया” कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । पुल्चोकस्थित आयोगको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरीको मानव अधिकारप्रति प्रतिबद्धता, चुनौती र सुधारात्मक प्रयासबारे छलफल भएको थियो।

कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल प्रहरी शान्ति सुरक्षाको प्रमुख निकायका रूपमा अपराध अनुसन्धानसँगै मानव अधिकारको संरक्षणमा पनि सशक्त भूमिका निर्वाह गरिरहेको बताउँदै प्रहरी सेवा पीडितमैत्री र समयसापेक्ष बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरू, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारू आयोग, मुस्लिम आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय दलित आयोग लगायतका पदाधिकारीहरूले प्रहरीसँगको समन्वयमा मानव अधिकार प्रवर्द्धनका उपायहरूबारे आफ्ना धारणा राखे।

प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले संविधान र अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्नो दायित्व निर्वाह गरिरहेको उल्लेख गर्दै मानव अधिकार सम्बद्ध तालिम, हिरासत व्यवस्थापनमा सुधार, भिड नियन्त्रणमा आधुनिक उपकरणको प्रयोग लगायतका प्रयासबारे जानकारी दिएका थिए ।

कार्यक्रममा प्रहरी सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मानव अधिकार, महिला, दलित, तथा संवेदनशील समुदायका अधिकार संरक्षणमा नेपाल प्रहरीले गरिरहेका कदमहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा हिरासतभित्र आत्महत्या, जाहेरी दर्ता, जातीय विभेद, महिला हिंसा, दाइजो प्रथा, बाल विवाह लगायत मुद्दामा प्रहरीको भूमिकालाई अझ संवेदनशील र उत्तरदायी बनाउनुपर्ने सुझावहरू उठाइएको थियो। उच्च प्रहरी अधिकारी, आयोगका सदस्य र सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा प्रभावकारी समन्वय र सुधारका उपायहरूमा विशेष जोड दिइएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button