प्रहार समाचार । ८ असार २०८२ आइतवार । कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेर अमानविय तथा घृणित व्यवहार प्रस्तुत गरेका छन्।

प्राप्त समाचार अनुसार गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्या उनको आफ्नै देवर नवीन नाथले गरेको खुलेको छ। घरमा १६ दिनअगाडि मात्र शिशुको जन्म भएर खुसीको माहोल रहेको परिवारमा हत्याको खबरले स्तब्ध बनाएको छ। प्रहरी अनुसन्धानले सुनका गहनाका लागि सुत्केरी भाउजूको हत्या गरिएको तथ्य सार्वजनिक गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार, आरोपी नवीनले प्रहरीसमक्ष रातको समयमा भाउजू सुतिरहेकै बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन्। उनले भाउजूका कानमा लगाइएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको पनि स्वीकारेका छन्। सुरुमा विष सेवन वा सर्पको टोकाइको आशंका गरिए पनि शवमा घाउचोट नदेखिएपछि प्रहरी टोली घटनास्थलमै पुगेर अनुसन्धान थालेको थियो।
श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला तुलसी आफ्ना सासू-ससुरा, देवर र नन्दसँग बसिरहेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा सुनका रिङ हराएको देखिएपछि घटना शङ्कास्पद बन्दै गएको थियो। नवीनले सासू-ससुरामार्फत गहना लुकाएको स्थान बताएपछि मात्रै प्रहरीले प्रमाणसहित उनलाई नियन्त्रणमा लिएको थियो। रिस र ईर्ष्याले प्रेरित भएर हत्या गरिएको बयान दिएपछि घटनाले परिवारिक सम्बन्धको संवेदनशील पक्ष उजागर गरिदिएको छ।


















