• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ७ असार २०८२ शनिवार । लमजुङको बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षकहरु (कक्षा १-३) का लागि एकीकृत पाठ्यक्रम सम्बन्धि कस्टमाइज्ड तालिम सम्पन्न भएको छ ।

तालिम असार १ गते देखि हिंजो ६ ग सम्म दुई चरणमा सञ्चालन भयको थियो । सो तालिममा बेसीशहर नगरपालिकाका ४२ वटा सामुदायिक विद्यालयका ८६ जना शिक्षक,शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
दुई चरण गरि छ दिन सम्म सञ्चालन भएको तालिममा जनविकास मा.वि.का शिक्षक विनोद न्यौपाने,रणबहादुर खड्का,बालकल्याण मा.वि.का शिक्षक पुष्प सागर वराल, मर्श्याङदी क्याम्पसका उपप्रध्यापक भारत भण्डारीले आ-आफ्नो विषयमा सहजीकरण गरेका थिए ।
तालिम अवधिभर विधालयकको कक्षा १ देखि ३ सम्म लागु भयको एकीकृत पाठ्यक्रमको अवधारणा,एकीकृत सिकाइ सहजीकरण प्रकिया,योजना निमार्ण,विद्यार्थी मूल्याङ्कन,सुक्ष्म शिक्षण अभ्यास लगायतका अन्य महत्वपुर्ण बिषयमा सहजीकरण गरिएको थियो ।
तालिमका सहभागिहरुले कक्षा शिक्षण सिकाइ सहजिकरणमा सहयोग पुग्ने बताएका छन् । तालिम मार्फत एकिकृत पाठ्यक्रम सम्बन्धी अस्पष्टता, सरल शिक्षण अभ्यास लगायतका अत्यन्तै महत्वपुर्ण बिषयहरुमा जानकारी लिएकाले तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएका छन् ।
तालिम समापन समारोहमा बोल्दै बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले समाज परिवर्तनका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने भन्दै इमान्दार भएर आफ्नो पेशामा लाग्न प्रशिक्षार्थीलाई आग्रह गरे ।
त्यसैगरी बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत ईश्वरी प्रसाद पाण्डेले परम्परागत शिक्षाको अन्त्य गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउदै विद्यार्थीहरुको भविष्य बारे शिक्षकहरु उत्तरदायी बन्नु पर्ने र आफ्नो पनि पेशागत वृत्ति विकासका लागि तालिमको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख किसान राज चिलुवालले यस तालिमबाट विद्यालय शिक्षाको जगको रूपमा रहेकाे प्रारम्भिक कक्षाको सिकाइ सहजीकरण र मूल्याङ्कन पाठ्यक्रमको मर्म अनुसार हुने र आगामी दिनमा पालिकाले शैक्षिक गुणात्मक अभिवृद्दिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा लिएको बताए । कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक सृजना पाण्डे चिलुवालले गरेकी थिइन्।


















