हेडलाईनव्याससमाचारगण्डकी

११ औं अन्तर्राष्ट्रिय योग दिवस दमौलीमा विविध कार्यक्रमसहित सम्पन्न

प्रहार समाचार । तनहुँ, ७ असार २०८२ शनिवार । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार तनहुँको दमौलीमा विविध सांस्कृतिक तथा योगसम्बन्धी कार्यक्रमहरू आयोजना गरिए। प्रभातफेरीसहित सुरु भएको कार्यक्रम व्यास–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको कलात्मक योग आसन प्रदर्शनबाट झनै आकर्षक बनाइएको थियो।

कार्यक्रममा जीवन विज्ञानकी तारा भण्डारीको प्रस्तुति, ॐ शान्ति समूहको शान्तिपूर्ण अभ्यास, पतञ्जली योग समितिको योग प्रदर्शन, सितोरियो कराँते समूहको आत्मरक्षा कौशल र भिक्टोरिया डान्स ग्रुपको नृत्य प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। दमौली बजारमा आयोजित प्रभातफेरीपछि सभाहलमा विधिवत रूपमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले योगले शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने उल्लेख गर्दै यसलाई जीवनशैलीमा समावेश गर्नुपर्ने धारणा राखे। व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले विद्यालय र सामुदायिक तहबाटै योगको अभ्यास विस्तार गर्नुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, निर्मल मा.वि.का प्रधानाध्यापक गणेशचन्द्र बानेतलगायत वक्ताहरूले पनि योगको महत्वमाथि धारणा राखे।

कार्यक्रमको सहजीकरण जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नारायण श्रेष्ठले गरेका थिए। कार्यक्रम प्रदेश आयुर्वेद अस्पताल तनहुँको आयोजनामा सम्पन्न भएको हो भने व्यास ज्योति साधक परिवार, पतञ्जली योग समिति तनहुँ, जीवन विज्ञान तनहुँ र ॐ शान्ति तनहुँको सह–आयोजनामा विविध गतिविधिहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button