प्रहार समाचार । तनहुँ, ७ असार २०८२ शनिवार । तनहुँको व्यास -१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पस, दमौली अन्तर्गतको युवा रेडक्रस सर्कलले लगातार चौथो वर्ष तनहुँ जिल्लाको उत्कृष्ट सर्कलको उपाधि जित्दै कीर्तिमान कायम गरेको छ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा तनहुँ अन्तर्गतको जुनियर युवा समितिले वर्ष २०८१ का गतिविधिहरुको मूल्याङ्कनका आधारमा उक्त घोषणा गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।
तनहुँ जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा गठन भएका ९१ वटा सर्कलमध्ये उत्कृष्ट ठहरिएको भानुभक्त क्याम्पसको सर्कललाई ४०औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठीको अवसरमा सम्मानित गरिएको हो। उक्त गोष्ठी जेठ ६ र ७ गते सत्यवती मावि, दमौलीमा आयोजना गरिएको थियो।

पुरस्कार वितरण समारोहमा नेपाल रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष प्राध्यापक डा. कृष्ण गौतम, मन्त्री सूर्य चन्द्र हइखले, तथा जिल्ला संयोजक उपप्राध्यापक बिमल गिरी लगायतले सर्कलका शिक्षक नायक उपप्राध्यापक रूपक कुमार श्रेष्ठ, अध्यक्ष सुमन खड्का र सचिव रोशन ओझालाई प्रमाणपत्रसहित ५ हजार रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेका थिए।
सक्रिय मानवीय सेवाका कार्य, निरन्तर सामाजिक योगदान र नेतृत्व विकासमा केन्द्रित कार्यक्रमहरूका कारण भानुभक्त क्याम्पसको सर्कलले जिल्लाभरका अन्य सर्कलभन्दा अग्रणी स्थान बनाउन सफल भएको रेडक्रसले जनाएको छ।
स्थानीय तहदेखि राष्ट्रियस्तरमा युवा शक्ति परिचालनमा रेडक्रसको यो निरन्तरताले अन्य सर्कलहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।


























