हेडलाईनविचारप्रदेश

कारागारको कोठाबाट रवी लामिछानेको -एक खुला पत्र

आदरणीय आमा-बुवा, दाजु-भाइ तथा दिदी-बहिनीहरू,

नमस्कार।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको तीन वर्ष पूरा हुँदै गर्दा म अहिले ९७२५ नम्बरको थुनुवा रूपमा भैरहवा कारागारबाट यो सन्देश लेख्दैछु। आशा छ, कुनै न कुनै माध्यमबाट तपाईंहरू माझ पुग्नेछ।

तपाईंहरूले मलाई दुईपटक संसदसम्म पुर्‍याउनुभयो। रास्वपालाई करिब बाह्र लाख मत दिनुभयो। त्यस मतले यिनीहरूलाई झस्कायो, उपनिर्वाचनको परिणामले तर्सायो। अनि जब प्रतिस्पर्धाबाट जित्न नसकिने महसुस भयो, तब सुरु भयो षड्यन्त्र-मविरुद्ध। तपाईंहरूले देखिरहनुभएको छ, सिङ्गो राज्यको संयन्त्र प्रयोग गरेर मलाई जालमा पार्ने कोसिस कसरी भयो।

म जहिल्यै अन्यायविरुद्ध बोल्ने मान्छे हुँ। बोलेरै विश्व कीर्तिमान राखेको मान्छे हुँ। तर अहिले यस्तो अवस्थामा पुर्याइयो जहाँ म आफ्नै पक्षमा पनि बोल्न सकिनँ। मेरा कानुनी सल्लाहकारहरूले भने, तपाईं देशकै सबैभन्दा शक्तिशाली आपराधिक गिरोहसँग लड्दै हुनुहुन्छ, बोलेर फसिन सकिन्छ-त्यसैले मौन रहनुपर्छ।

नौ वटा अदालतमा मुद्दा चलाइयो-चार जिल्ला अदालत, चार उच्च अदालत, र एक सर्वोच्च। यति धेरै मुद्दामा अल्झिइरहँदा म मौन बस्न विवश भएँ। तर यो मौनता मलाई नै सबैभन्दा बढी बिझायो।

चैत १८ गते घोषणा गरेँ-अब मौन रहनेछैन। चैत २२ मा उच्च अदालतले थुन्ने आदेश दियो। अदालतमा विश्वास राख्न चाहन्छु, तर राज्यका सबै संयन्त्र कब्जा गरिएकाले अब न्यायको आशा जनताको अदालतबाहेक कतै छैन।

तीन दशकभन्दा बढी समय यिनीहरूले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका-सबै कब्जा गरिसके। मिडियादेखि प्रहरीसम्म यिनकै सेवा केन्द्र बनेका छन्। ममाथि भएको यो आक्रमण मात्र व्यक्तिगत होइन, यो जनआशामाथिको हमला हो।

म राजनीतिज्ञ बन्न चाहेको थिइनँ। मिडिया क्षेत्रमा थिएँ, जीवन राम्ररी चल्दै थियो। अमेरिका गएँ, तर देश फर्किएँ-किनभने देशलाई केही दिन सक्छु भन्ने भावनाले। गिनिज बुकमा नाम राख्न पनि फर्किएँ। तर, आज म यहाँ छु-न व्यक्तिगत उन्मुक्तिका लागि, न कीर्तिमानका लागि। म यहाँ छु, देशलाई अपराधी सिन्डिकेटबाट मुक्त गराउने संकल्पसहित।

आज, जब म कालकोठरीमा छु, म आत्मसमीक्षा गरिरहेको छु। के मैले संगठित अपराध गरेँ? कि ममाथि संगठित राज्यशक्तिले अपराध गरिरहेको छ? ममाथि झुटा उजुरी दिनेहरूमध्ये कतिले सत्य बोल्न थालेका छन्। बाँकीलाई आग्रह गर्छु-एकपटक छातीमा हात राखेर आफैंलाई सोध्नुस्, के म ठग थिएँ? के तपाईंहरूले मलाई देखेर पैसा राख्नुभएको थियो?

प्रहरीले तयार पारेको जाहेरीमा डर, लोभ, प्रलोभन दिएर ल्याप्चे लगाइयो। मलाई मुद्दा लगाउन मान्छे समातेर ल्याइयो। अनि मलाई जेल हालियो, हतकडी लगाइयो। तर, यी हतकडी बिउ हतकडी हुन्। अब फुल्नेछन्, हुर्कनेछन्।

अब मेरो जीवनको उद्देश्य व्यक्तिगत होइन-देशको मुक्ति हो।

संविधान संशोधन होइन, पुनर्लेखन हुनुपर्छ। सबै उच्चपदस्थको सम्पत्ति छानबिन होस्। प्रदेशसभा खारेज गरौं। राष्ट्रको पुनर्संरचना गरौं। हरेक संवैधानिक निकायहरूलाई दलीय कब्जाबाट मुक्त गरौं।

म अहिले लडिरहेको छु, अदालतमा पनि, जनतासँग पनि। न्याय दिन ढिला होस्, तर अन्धा नहोस्। र यदि म मरेँ भने पनि-म विश्वस्त छु, तपाईंहरू यी अपराधीहरूबाट त्यो तस्करीको घडी खोस्नुहुनेछ, हतकडी लगाउनुहुनेछ।

र यदि बाँचेर निस्केँ भने-म अझै दृढ भएर जनताको अगाडि उभिनेछु।

म रवि लामिछाने-देश र जनताका लागि हरेक परीक्षा दिन तयार छु।
ममाथि गरिएको अन्यायको फैसला अब जनताकै अदालतमा हुनेछ।

र यो युद्ध म जित्न जन्मिएको छु।

शुभेच्छासहित,
रवि लामिछाने
थुनुवा नम्बर: ९७२५
भैरहवा कारागार


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button