• सुशिल लामगादे बि.क.( प्रहार संवाददाता) तनहुँ, ७ असार २०८२ शनिवार । लायन्स क्लब अफ तनहुँ सत्यवतीको नेतृत्व हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। वर्ष २०२४/२५ की अध्यक्ष पवित्रा खनालले क्लबको अध्यक्ष पद वर्ष २०२५/२६ का लागि सीता ताम्राकार (वैद्य)लाई हस्तान्तरण गर्दै सफल कार्यकालमा साथ दिने पदाधिकारी र सदस्यहरूलाई मायाको चिनो प्रदान गरिन्।

नव निर्वाचित अध्यक्ष वैद्यले आफ्नो कार्यकालमा क्लबमार्फत गरिने सामाजिक सेवा योजनाहरु सार्वजनिक गर्दै वृक्षारोपण, खानेपानी सेवा, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, न्यानो कपडा वितरण, आँखा शिविर र हिलचियर वितरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्। कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले महिला नेतृत्वमा रहेको क्लबले दमौली क्षेत्रमै उदाहरणीय काम गर्दै आएको उल्लेख गरे।

कार्यक्रममा वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, लायन्सका वरिष्ठ सल्लाहकार सुरेन्द्र पौडेल, श्रीभद्र खनाल, वडा सदस्य सरोज भण्डारी, पत्रकार महासंघका पूर्व अध्यक्ष ओमकार आचार्य लगायतले क्लबको समाजसेवामा योगदान उल्लेखनीय रहेको बताए। कार्यक्रमको सहजीकरण तत्कालीन क्लब सचिव इन्द्रकुमारी श्रेष्ठले गरेकी थिइन्।


























