प्रहार समाचार । तनहुँ, ६ असार २०८२ शुक्रवार । कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा नमात्र मानव अधिकारको संरक्षण र प्रवर्द्धन सम्भव हुने धारणा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रममा तनहुँको बन्दिपुरमा बोल्दै वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन्।

कार्यक्रमका बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले लोकतन्त्र सुदृढ नहुँदासम्म मानव अधिकार सुरक्षित नहुने भन्दै राज्य र गैर-राज्य दुबै पक्षबाट हुने हननविरुद्ध सचेत रहन आग्रह गरे। उनले नागरिक स्वयं सचेत नभएसम्म मानव अधिकार संरक्षण असम्भव हुने बताए।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले विद्यालय तहमै मानव अधिकारको विषय समेट्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्यालयका कानुन सचिव रामजी दनैले सभापतिको आसनबाट सम्बोधन गर्दै, कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मानव अधिकारको संरक्षण र प्रवर्द्धन सम्भव हुने बताएका थिए। उनले सबै तहका निकाय र नागरिकले मानव अधिकारको संरक्षणमा भूमिका खेल्नुपर्ने धारणा राखे।

तनहुँका प्रमुख जिल्ला अधिकारी राम कृष्राण अधिकारीले ज्यले गर्ने हरेक क्रियाकलाप मानव अधिकार संरक्षण, नीति नियमको पालना तथा मानव अधिकारको संरक्षणमा प्रतिबद्ध रहेको बताए ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डी.पी. अधिकारीले समाचा लेखेकै भरमा राज्य पक्ष तथा गैर राज्यपक्षबाट संञ्चार कर्मी तथा संञ्चार गृ प्रेस हननका घटना हुनु दुःखद पक्ष रहेको बताए । उनले मानव अधिकारको संरक्षणका लागि स्वतन्त्र र सुरक्षित सञ्चारको वातावरण अपरिहार्य भएको बताए।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार रक्षकहरु स्वयं पनि मानव अधिकार उल्लङ्घनको सिकार बन्ने गरेको उल्लेख गर्दै, उनीहरुको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सहसचिव नीतु गारतौलाले राष्ट्रिय मानव अधिकार आयोगको भूमिका र संरचनाको संक्षिप्त जानकारी दिइन्। पत्रकार , स्वास्थ्य, महिला अधिकार, गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रममा इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सहजीकरण गरेका थिए।


























