प्रहार समाचार । नवलपरासी पूर्व , ६ असार २०८२ शुक्रवार । नवलपरासी पूर्वको विनयी खोलामा आएको बाढीले बिहीबार राति यात्रुबाहक बस बगाएको छ। काठमाडौंबाट बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस डाइभर्सनसहित बगाउँदा यात्रुहरूमा त्रास फैलिएको थियो। बसमा सवार ३८ यात्रुलाई भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

ओभरलोड ट्रकका कारण स्थायी पुल भाँचिएपछि वैकल्पिक रूपमा बनाइएको डाइभर्सन प्रयोग हुँदै आएकोमा अविरल वर्षाले खोलामा आएको बाढीले पटक–पटक डाइभर्सन बगाउँदै आएको छ। यही क्रममा विनयी खोलाको डाइभर्सनसहित बस बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड फेरि पूर्ण रूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए।
दाउन्ने–दुम्कीबास क्षेत्रमा पानी पर्नासाथ सडक हिलो र चिप्लो हुने हुँदा जाम र दुर्घटनाको जोखिम बढेको छ। यस्तो अवस्थामा प्रहरीले वैकल्पिक रुट प्रयोग गर्न सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ। पूर्व–पश्चिम गाडीहरूलाई पोखरा–स्याङ्जा मार्ग प्रयोग गर्न र साना गाडीले कालीगण्डकी करिडोरको गैँडाकोट–पिपलडाँडा मार्ग उपयोग गर्न सकिने सुझाव दिइएको छ।



























