हेडलाईनप्रदेश

सम्पादकीय

आज गणतन्त्र दिवस । फूलमाला, ब्यानर, भाषण र नाराले भरिएका कार्यक्रमहरू हुँदैछन्। तर यो उत्सवको बिचमा एउटा मौन प्रश्न गुञ्जिरहेको छ – के साँच्चै हामी नेपालीले गणतन्त्रबाट अपेक्षित उपलब्धि हासिल गरेका छौं?

२०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी जनताको शासन स्थापना गर्‍यो। मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो। तर आज यति वर्षपछि पनि जनताका अनुहारमा उत्साहभन्दा बढी निराशा छ। सरकार फेरिन्छ, मन्त्रिमण्डल फेरिन्छ, पार्टीहरूको सत्ता समीकरण फेरिन्छ, तर जनताका सपना भने त्यहीँ अधुरै छन्।

देशमा सुशासनको चरम अभाव छ। ठूला–ठूला भ्रष्टाचारका घटनाले राज्यका सबै अंगप्रति जनगुनासो र आक्रोश झनै बढाएको छ। ‘यो पार्टी’ र ‘त्यो पार्टी’ को भनिने ठाउँ नै छैन—किनकि विगतका अधिकांश भ्रष्टाचार काण्डहरूमा सत्तामा बसेका प्रमुख दलका नेताहरू नै मुछिएका छन्। चाहे वो ‘अर्ना खरिद काण्ड’ होस् वा ‘भैरहवा विमानस्थल’, चाहे ‘यति एयरलाइन्सको सेयर हेराफेरी’ होस् वा ‘वाइडबडी जहाज प्रकरण’, बालुवाटार ललिता निवास जग्गा प्रकरण होस् या नेपाल टेलिकम—NT 3G/4G उपकरण खरिद अनियमितता यसमा राजनैतिक दलका ठूला नेताको संलग्नता आरोपित हुँदै आएको छ। हावा नआई पात हल्लन्छ र?

शासकहरूले देखाउने नारा र गरिने व्यवहारमा आकाश–जमिनको अन्तर छ। ‘रोजगारमूलक शिक्षा’ भनेर नीति बनाइन्छ, तर शिक्षित यूवा रोजगारीको अभावमा देश छाड्न बाध्य छन्। कुन शिक्षा संस्थाबाट कति नेपालीले विदेश पढ्न गएका छन्? सरकारले यस्को विस्तृत डाटा राखेको छ? विदेशमा पढ्न, बस्न र कमाउन लाखौं खर्चिएका यूवाहरूका सपनाको मूल्य हाम्रो अर्थतन्त्रले तिर्दैछ।

देशमा बेरोजगारी व्याप्त छ। उद्योग–धन्दा, कलकारखाना बन्द छन्। स्वदेशी उत्पादनले देशको माग धान्न सक्दैन, परिणामतः विदेशबाट सुईदेखि मोबाइलसम्म आयात गर्नुपर्ने बाध्यता छ। कृषिप्रधान देशको नाममा सरकारहरू बने, तर किसान मल–बिउको संकटले हैरान छन्। निर्यात बढाउने सपना देखाइन्छ, तर आयातले व्यापार घाटा बढाइरहेको छ।

देश बैदेशिक ऋणको दलदलमा छ। हरेक नयाँ सरकारले नयाँ ऋण लिन्छ, तर त्यसबाट उत्पादक पूर्वाधार बनाउने सोच छैन। ऋणको सिकोमा योजना बनाइन्छ, बजेट बाँडिन्छ, तर कार्यान्वयनमा सुस्तता देखिन्छ। विकासको सपना हावामा उडाइन्छ, जमिनमा भ्रष्टाचारको जाल बिच्छाइन्छ।

अब प्रश्न उठ्छ—व्यवस्था परिवर्तन गऱ्यौं, तर अवस्था किन ज्यूँका त्यूँ? के लोकतन्त्र नामको थोत्रो गाडीमा थोत्रै टायर हालेर मुलुकको यात्रा सुरक्षित बनाउन सकिन्छ? मुलुकका जिम्मेवार राजनैतिक दलहरु सकिने वा सच्चिने दुबैतर्फको अन्तिम मोडमा आइपुगेका हुन् ?

अब विकल्प स्पष्ट छ—या त यो अधोगतिको यात्रामा सम्पूर्णरूपमा डुब्ने, या त स्वच्छ शासन, पारदर्शिता, जवाफदेहिता, र जनताको आवाजप्रति संवेदनशील नेतृत्व विकास गर्ने।

गणतन्त्रको साँचो सार जनताको हितमा शासन गर्नु हो, सत्ता भोग्नु होइन।

अबको सन्देश स्पष्ट छ : सच्चिऔँ, होइन भने सकिँदैछौं। गणतन्त्र दिवस २०८२ को सबैमा शुभकामना ।श


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button