प्रहार समाचार । चीन, १४ जेठ २०८२ बुधवार । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको युदाओ रासायनिक कारखानामा मंगलबार राति भएको शक्तिशाली विस्फोटमा कम्तीमा पाँच जनाको ज्यान गएको छ। घटनामा १९ जना घाइते भएका छन् भने ६ जना अझै बेपत्ता छन्। दुर्घटनापछि कारखाना परिसर कालो धुवाँले ढाकिएको दृश्य सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।

विस्फोटको कारण हाल खुलाइएको छैन, तर घटनापछि उद्धार र राहत कार्य तीव्र पारिएको छ। स्थानीय प्रशासनका अनुसार २ सय भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू तत्कालै परिचालन गरिएका थिए। उनीहरूले घाइतेहरूको उपचार तथा बेपत्ताको खोजीमा खटिएको जनाएका छन्।
घटनास्थल नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने रासायनिक प्रभाव मूल्याङ्कनका लागि विशेषज्ञ टोली पनि परिचालन गरिएको छ। युदाओ कम्पनीको सुरक्षा पूर्वतयारीमा प्रश्न उठिरहेको बेला चिनियाँ अधिकारीहरूले छानबिन सुरु गरेका छन्।




















