प्रहार समाचार । काठमाडौँ, १२ जेठ २०८२ सोमवार । आज गण्डकी प्रदेशसहित देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहानैदेखि आंशिक बदली रही केही स्थानहरूमा कुहिरो लागेको देखिएको छ। पोखरा, बागलुङ, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा दिउँसोपछि मेघगर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जनाइएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको मध्य तथा पूर्वी भूभागमा पनि आंशिक बदली रही कतिपय स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। मधेश प्रदेशका केही भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा समेत अपराह्नपछि मौसममा थप अस्थिरता देखिने पूर्वानुमान गरिएको छ। तापक्रममा भने विशेष उतारचढाव नदेखिएको र अहिलेको मौसम खेतीपातीका लागि सामान्य अनुकूल रहेको विज्ञहरूले बताएका छन्।
मौसमविद्हरूले आजको दिन यात्रा गर्ने तथा खुला स्थानमा काम गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्। विशेषगरी बादलयुक्त मौसमका कारण आकाशीय चट्याङको जोखिम हुन सक्ने भएकाले सुरक्षित स्थानमा बस्न र मौसमसम्बन्धी सरकारी सूचना नियमित अवलोकन गर्न समेत आग्रह गरिएको छ। मौसममा आउने तत्कालिक परिवर्तनहरूका लागि महाशाखाले समय समयमा अपडेट जारी गरिरहेको जनाएको छ।

























