हेडलाईनसमाचारगण्डकीविजनेसम्याग्दे

सिप सिकेर आत्मनिर्भर बन्दै तनहुँको म्याग्दे पालिकाका महिलाहरु

प्रहार समाचार । तनहुँ, १० जेठ २०८२ शनिवार । ‘सिप सिकेपछि रोजगारी आफैं सृजना हुन्छ’ भन्ने सन्देशसहित म्याग्दे गाउँपालिकाले महिलालाई लक्षित गरी सञ्चालन गरेको सिपमूलक तालिमले स्थानीय महिलाहरूमा आत्मनिर्भरताको भावना जागृत गराएको छ। लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं. ३ मा २० जना महिलाले क्रिस्टलका गहना र फ्रेब्रिक माला बनाउने सीप सिकेका छन्।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले तालिम उद्घाटन बेरोजगारी अहिलेको प्रमुख चुनौती रहेको चर्चा गर्दै सिपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने मात्र होइन, गाउँकै आर्थिक गति चलायमान बनाउने बताए । साधै अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा रोजगारी र आयआर्जन बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले महिलालाई आत्मनिर्भर बनाएर परिवारको तथा सिङ्गो पालिकाको आय आर्जनमा टेवा पुग्ने विश्वास लिए ।


प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले घरेलु तथा लघुउद्योगमार्फत उत्पादन वृद्धि गर्नु नै आर्थिक समृद्धिको मूल बाटो रहेको उल्लेख गर्दै सिप सिक्नेहरूको संख्या बढ्दै गएकाले पालिका पर्याप्त स्वरोजगारको बाटो तर्फ उन्मुख रहेको बताए ।

वडा अध्यक्ष दीपक कुमार श्रेष्ठले सिपालक सिप सिक्नु अहिलेको आवश्यकता रहेकोले पालिका भित्रै सिपले दर्ता भइसकेका ‘म्याग्दे झोल साबुन उद्योग’ र ‘दिदीबहिनी उद्योग’ जस्ता सफल उद्यमीहरु उदाहरणका पात्र भएको बताए ।

पालिकाका आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा ७५ जना महिलालाई सिपमूलक तालिम दिने लक्ष्य छ। सिप सिकेपछि उद्यमी बन्न अभिमुखिकरण, घरधुरी सर्वेक्षण र निरन्तर तालिम मार्फत सहजीकरण भइरहेको उनले बताए । छ

तालिममा सहभागी महिलाहरू प्रशिक्षक कमला सुवेदीबाट पोते, माला, चुरा, औंठी, टपसहित १० भन्दा बढी प्रकारका गहना बनाउने सिप सिकेपछि उत्साहित भएका छन्। प्रशिक्षार्थी लक्ष्मी शाही ठकुरीले भनिन्, -‘सिप सिकेपछि अब घरमै बसेर व्यवसाय थाल्न सक्छु, अब अरूलाई पनि तालिम दिन सक्छु।’ त्यस्तै अर्की सहभागी खिमा थापा भन्छिन् – ‘हामीले समुह बनाएर सिकेको सिपलाई व्यवसायमा लाग्ने निर्णय गरेका छौं। बजार पनि राम्रो देखिन्छ, व्यवसाय सफल हुनेमा आशावादी छु।’

तालिमको माग स्थानीय महिला तथा युवाबाट आएको भन्दै वडा नं. ३ का वडाध्यक्ष टुकराज अधिकारीले भने- ‘सिप छ तर बजार थाहा छैन भन्ने चिन्ता थियो। त्यसैले तालिमसँगै पोखराको लेकसाइड, डेविडफल, पुम्दीकोट जस्ता पर्यटकीय स्थानहरूमा अध्ययन भ्रमण गरायौ । बजार र व्यवसायीहरूसँगको अन्तरक्रियाले महिलामा थप आत्मविश्वास बढेको छ।’

उता पालिकाको वडा नं. ४ का महिलाहरूले एड्भान्स हर्पिक, झोल साबुन, पिताम्बरी, फिनेल बनाउन सिकिरहेका छन्। यसरी साना घरेलु तथा लघुउद्योग मार्फत स्वदेशी उत्पादन, रोजगारी र आर्थिक समावेशिता बढाइ समृद्ध गाउँ बनाउने दिगो लक्ष्य अघि सारिएको पालिकाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button