हेडलाईनसमाचारप्रदेश

दाउन्ने सडक फेरि अवरुद्ध : वर्षासँगै सडक भासिँदा सयौं सवारी रोकिए

प्रहार समाचार । बर्दघाट , १० जेठ २०८२ शुक्रवार ।गएरातिदेखि परेको अविरल वर्षाले दाउन्ने सडक खण्ड पुनः अवरुद्ध बनेको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिकको झण्डै ७ मिटर सडक भासिँदा पूर्व–पश्चिम चल्ने प्रमुख यातायात मार्ग ठप्प भएको हो। इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार भासिएको क्षेत्रमा ढलान गरिएको सडक भागसमेत उखेलिएको छ।

सडक अवरुद्ध भएपछि राति ११ बजेदेखि सयौं सवारी साधन बर्दघाट र दुम्कीवास क्षेत्रमै अलपत्र परेका छन्। शुक्रबार रातिदेखि बन्द रहेको सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। दैनिकजसो ओहोरदोहोर हुने यात्रु, खाद्यवस्तु, औषधि र अन्य सेवासुविधा बोकेका सवारीहरू रोकिएपछि यात्रुहरू समस्यामा परेका छन्।

केही दिनअघि मात्र आंशिक रूपमा बन्द गरेर सडक स्तरोन्नतिको काम भइरहेको थियो। तर सामान्य वर्षामा पनि सडक चिप्लो हुनु, पहिरो खस्नु र अब सडक भासिनुजस्ता समस्या देखिन थालेका छन्। स्थानीयवासी र यात्रुहरूले निर्माणको गुणस्तरप्रति प्रश्न उठाएका छन् भने सम्बन्धित निकायले तत्काल सडक मर्मतको पहल गर्नुपर्ने माग गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button