प्रहार समाचार, तनहुँ — २०८२ जेठ ९, शुक्रवार।
विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयमा स्टेशनरी बैंक स्थापना गरिएको छ। शिक्षा क्षेत्रमा सकारात्मक सन्देश फैलाउने यो अभियान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद शर्मा र समाजसेवी व्यवसायी मनोज महतोको संयुक्त पहलमा सुरु गरिएको हो।

उक्त कार्यक्रम आज विद्यालय प्राङ्गणमा कार्यवाहक वडा अध्यक्ष जगतबहादुर क्षेत्रीको आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विव्यस अध्यक्ष शर्माले ४० हजार मूल्य बराबरको ४० दर्जन कापी र मनोज ग्लास हाउसका सञ्चालक महतोले १० हजार मूल्य बराबरको १० दर्जन कापी विद्यालयलाई हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै जनप्रतिनिधि कार्यवाहक वडा अध्यक्ष क्षेत्रीले पुण्य कार्यको शुभारम्भप्रति प्रसन्नता व्यक्त गर्दै सहयोगकर्ताहरूप्रति आभार प्रकट गरे। त्यस अबसरमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद खनालले अभियानको प्रशंसा गर्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे। साथै, उनले आफ्नो आगामी जन्मदिनको अवसरमा व्यक्तिगत रूपमा पाँच हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री बैंकलाई प्रदान गर्ने घोषणा गरे।

स्थानीय सहयोगमा आधारित यस किसिमको प्रयासले आर्थिक रूपले कमजोर पृष्ठभूमिका बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
























