प्रहार समाचार । तनहुँ, ९ जेठ २०८२ शुक्रवार । लायन्स क्लब अफ तनहुँ दमौली र लायन्स क्लब अफ तनहुँ सत्यवतीको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय तनहुँ, दमौलीको पुस्तकालयलाई विभिन्न पुस्तकहरू हस्तान्तरण गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यले प्रहरी पुस्तकालयलाई समृद्ध बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी वीरेन्द्र बहादुर शाहीले पुस्तक हस्तान्तरण कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै भने, “पढ्ने संस्कारलाई प्रवर्द्धन गर्ने यस्ता गतिविधिहरू प्रहरी संगठन भित्र बौद्धिक वातावरण निर्माणका लागि अत्यन्त महत्वपूर्ण हुन्छन्।” उनले प्रहरी मात्र होइन, सर्वसाधारणका लागि पनि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गरे।

लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष रनिल रोक्काले पुस्तक हस्तान्तरण कार्यक्रममार्फत प्रहरी संगठनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। “समाजसेवाको भावनासहित यस्तो कार्यक्रमले प्रहरी–समुदाय सम्बन्धलाई अझ सुदृढ बनाउनेछ,” उनले भने।
त्यस्तै, लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालले क्लबले शिक्षा र बौद्धिक विकासमा योगदान पुर्याउने उद्देश्यले निरन्तर सामाजिक कार्यक्रमहरू गर्दै आइरहेको उल्लेख गर्दै भनिन्, “यो हाम्रो सानो प्रयास हो, जसले ठूलो प्रभाव पार्न सक्छ भन्ने विश्वास लिएका छौँ।”

कार्यक्रममा क्लबका पदाधिकारी, प्रहरी अधिकृत तथा कर्मचारीहरू र जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
























