प्रहार समाचार । काठमाडौं, ८ जेठ २०८२ बिहिवार । प्रहरीले बुधबार देशभर विभिन्न स्थानहरूबाट लागूऔषधसहित २३ जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सडक, डेरा कोठा र सीमावर्ती नाकासम्म गरिएको निगरानीमा गाँजा, ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्मो जस्ता लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सको बैङ्कक–काठमाडौं उडानमार्फत आएका भारतको केरला राज्यका २३ वर्षीय श्रीनिश कालेक्कलाथिलको सुटकेसबाट ४ किलो ४८० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
सुर्खेत, रूपन्देही, कञ्चनपुर, झापा, धनकुटा, बाँके, बर्दिया, मोरङ लगायत जिल्लाहरूमा गरिएको कारबाहीमा अधिकांश युवाहरूको संलग्नता देखिएको छ। बुटवलमा मात्र दुई फरक घटनामा चार जना, झापा र बर्दियामा दुई–दुई घटनामा गरी सात जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर, खैरो हेरोइन, गाँजा, ट्रामाडोल र स्पास्मो चक्की लगायतका लागूऔषध र डिजिटल तराजु समेत बरामद गरिएको छ। उनीहरूलाई मोटरसाइकल, स्कुटर, बोलेरो जस्ता सवारी साधन प्रयोग गरी लागूऔषध ओसारपसार गरेको आरोप लागेको छ।
प्रहरीले सबै पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी अझ कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
























