प्रहार समाचार । तनहुँ, ८ जेठ २०८२ बिहीवार । नेपाली कांग्रेस तनहुँको आयोजनामा समसामयिक राजनीतिक विषयमा अन्तर संवाद कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने बाटोमा पार्टी अघि बढ्नुपर्ने बताए।

उनले पार्टीको अधिवेशन २०८४ साल अगावै हुनुपर्ने आवश्यकता औँल्याउँदै आफू कुनै गुटको बन्दीमा नलाग्ने न स्पष्ट पारे।

डा. महतले केन्द्र, प्रदेश र स्थानीय तह सबैले उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिँदै सिद्धान्त र नीतिको आधारमा होइन, रणनीतिक आवश्यकता अनुसार वर्तमान सत्ता गठबन्धन निर्माण भएको उल्लेख गरे। उनले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राख्दै, पार्टीका उम्मेदवार उठ्दा समेत आफ्नै नेताले अन्य दललाई भोट हाल्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे।

कार्यक्रममा केन्द्रीय सदस्य ध्रुव वाग्लेले बेरोजगारी अन्त्य गर्दै भ्रष्टाचार निर्मूल पार्न कांग्रेसले विधि र विधानअनुसार अघि बढ्नुपर्ने बताए। केन्द्रीय आमन्त्रित सदस्य पुष्प पराजुली, उपसभापति देवकुमार श्रेष्ठ, पूर्व मन्त्री दोबाटे बिक, महाधिवेशन प्रतिनिधि शान्तिरमण वाग्ले, पूर्व सभापति रघुनाथ पौडेल, सरिता गुरुङ लगायतले कांग्रेसले नयाँ रणनीतिमा अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रम नेका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव सहदेव अधिकारीले गरेका थिए।

























