प्रहार समाचार । काठमाडैँ, ८ जेठ २०८२ बिहिवार । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट पुनः हेर्दाहेर्दैमा राखिएको छ।

लामिछानेको रिहाइको मागसहित उनकी श्रीमती निकिता पौडेलले दायर गरेकी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ भए पनि टुंगो लाग्न नसक्दा शुक्रबारका लागि मिति सारिएको हो।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज रिटमाथि सुनुवाइ भएको थियो। तर समय अभावका कारण सुनुवाइ सकिएन र शुक्रबार पुनः पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ। यसअघि वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारसँग लिखित कारण माग गर्दै कारण देखाऊ आदेशसमेत जारी गरिसकेको छ।
निकिताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको बुटवल इजलास, काठमाडौं र रुपन्देहीका प्रहरी कार्यालयहरू, साथै रुपन्देही कारागार कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेकी थिइन्। सर्वोच्चको ढिलाइसँगै यो मुद्दा कानुनी, राजनीतिक र सार्वजनिक चासोको केन्द्रमा रहँदै आएको छ।
























