प्रहार समाचार । तनहुँ, ७ जेठ २०८१ बुधवार । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ऊर्जा मन्त्रालयको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। उनले विद्युत् आपूर्तिमा भइरहेको चरम समस्याको जिम्मेवारी ऊर्जामन्त्रीमाथि लगाउँदै उनलाई ‘दिउँसै रात पार्ने पापी’को संज्ञा दिएका छन्।

पुनले यस्तो दुष्ट व्यक्ति लाई प्रधानमन्त्री वा कांग्रेस पार्टीले हटाउनुपर्ने माग गरेका छन्। तर त्यसतर्फ कुनै कदम नचालिएको भन्दै उनले अब संयुक्त बृहत जनआन्दोलन अन्तिम उपाय भएको बताएका छन्।
पुनका अनुसार बत्तीकै कारण वीरगञ्ज कृषि औजार कारखाना र कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बारम्बार झ्याप-झ्याप बत्ती गइरहेको छ। यसले गर्दा युवा वैज्ञानिक तथा कर्मचारीहरुले निरन्तर काम गर्न नसकेको गुनासो उनले गरेका छन्। यस्ता संस्थामा अहिले १५ केभीए र ३० केभीएका डिजेल जेनेरेटर चलाएर काम गर्नुपरेको अवस्था छ, जसले काम खर्चिलो र अपारदर्शी बनाइरहेको छ।
उनले सरकारलाई चेतावनी दिँदै भनेका छन् कि यदि जनताको आवाज नसुनिने हो भने देश डुब्नेछ। मन्त्रीले जनताको पीडा बुझ्न नसक्नु, जिम्मेवारी निर्वाह नगर्नु र तिनको संरक्षणमा सरकार लाग्नु दुर्भाग्यपूर्ण भएको पुनको धारणा छ। उनले भनेका छन्, “रिस नउठेर माया लाग्छ र मन्त्रीज्यू?”
























