प्रहार समाचार । तनहुँ, ७ जेठ २०८२ बुधवार । तनहुँको व्यास नगरपालिकाको आज नियमित कार्यपालिका बैठक सम्पन्न भएको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा उपप्रमुख इन्दिरा दरै , प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरे , वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको उपस्थितिमा महत्वपूर्ण निर्णयहरू लिइएको जानकारी गराइएको छ।

बैठकमा आ.व. २०८२/८३ को बजेट तयारीसम्बन्धी छलफल विशेष आकर्षण रहेको थियो। यसमा नगरसभा सदस्यहरू, संघीय, प्रदेश तथा जिल्लास्तरीय प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, शिक्षा समिति र विज्ञहरूको सहभागिता रहेको थियो। योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे बि. क., गण्डकी प्रदेश योजना तथा नीति आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, शिक्षाविद् डा. उषा पोखरेल लगायतले प्रस्तुत गरेको विषयवस्तु र सुझावप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ।

बैठकमा नगरको जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ। त्यस्तै, विपद् जोखिम बढ्दै गएको अवस्थामा तत्कालीन राहत सामग्री खरिदका लागि ११ लाख ५० हजार रुपैयाँ विनियोजन गर्ने, साथै बाँकी रहेका सामुदायिक विद्यालयमा सिफारिस भइसकेका प्रधानाध्यापक नियुक्ति स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको वडा नं. – ९ का वडा अध्यक्ष एवं प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
























