प्रहार समाचार । झापा, ७ जेठ २०८२ बुधवार । झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल र अटो टेम्पो चोरी गर्ने गिरोहमा संलग्न चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदीप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तामोड नगरपालिका–७ बस्ने २७ वर्षीय जागिर आलम रहेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई चोरी गरेका सवारीसहित नियन्त्रणमा लिएको हो। प्रहरीले मे.८ प २११६, प्रदेश १–०१–०१५ प ९२४२, मे.९ प ३६१८, प्रदेश ३–०२–००९ प ५१२७ नम्बरका मोटरसाइकल तथा मे.१ ह ४८९६ नम्बरको अटो टेम्पो बरामद गरेको छ। ती सवारी साधनहरूको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
चारै जनालाई मोटरसाइकल तथा सवारी चोरीसम्बन्धी कसूरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ। प्रहरीले चोरीका घटनाहरूमा संलग्न अन्य व्यक्तिहरुको खोजी पनि तीव्र पारिएको जनाएको छ।
























