हेडलाईनसमाचारप्रदेश

नेपालकै ऐतिहासिक र पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम

• शंकरराज नहर्की । बागलुङ, २ जेठ २०८२ शुक्रवार । धौलागिरी हिमालको काखमा, कलकल बग्ने कालिगण्डकी र काठेखोलाको संगमस्थलको डाँडामाथि अवस्थित बागलुङ कालिका भगवती मन्दिर आस्था, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो। बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित यो मन्दिरलाई ‘नेपालकै सानो नेपाल’ भनेर चिनिने बागलुङ जिल्लाको पहिचानको रुपमा लिइन्छ।

कालिका देवीको दर्शन नगरी मरणरूपी भवसागर पार गर्न नसकिने विश्वासले यो मन्दिर हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त श्रद्धा र भक्ति केन्द्र बनेको छ। चैत्र महिनामा मनाइने चैते दशैं (चैत्राष्टमी) को अवसरमा यहाँ लाग्ने मेला राष्ट्रिय स्तरमै महत्त्वपूर्ण मानिन्छ।

ऐतिहासिक पृष्ठभूमि

यो मन्दिरको स्थापना वि.सं. १५९१ मा पर्वतका राजा प्रतापी नारायण मल्ल र पाल्पाली राजा मणिमुकुन्द सेनकी छोरी यशोधरा देवीको विवाहसँग जोडिएको छ। राजकुमारीले विवाहमा साथ लिएर आएकी देवीलाई वैदिक विधिपूर्वक प्रतिष्ठा गरिएको हो। देवीको खड्ग र डोली दरबारमा कसैले उठाउन नसकेको अवस्थामा शिकारी भेषमा आएका चक्र पुवारले खड्ग उठाएपछि उनलाई पूजारी नियुक्त गर्दै खड्गा उपाधि दिइएको थियो। सोही दिनदेखि खड्का पुवार वंशजहरुले निरन्तररुपमा देवीको पूजा–आराधना गर्दै आएका छन्।

वि.सं. १८४५ मा सरदार अमरसिंह थापाले पूजारी रामचन्द्र खड्कालाई दिएको सनद तथा वि.सं. १८४८ मा महाराजधिराजको लालमोहरले मन्दिरको ऐतिहासिक गुठी व्यवस्था र पूजारी परम्परालाई थप संस्थागत बनाएको पाइन्छ।

धार्मिक, सांस्कृतिक र भौतिक संरचना

मन्दिर परिसरमा श्री महाकाली, महालक्ष्मी, महासरस्वती, शिव, गणेशलगायतका मूर्तिहरु छन् जहाँ नित्यपूजा खड्का जातिका पूजारी तथा ब्राह्मण पूजारीमार्फत गरिन्छ। विशेषगरी मंगलवार, शनिवार र नवदुर्गाका अष्टमी तिथिहरुमा हजारौं भक्तजनहरु देवीको पूजा, भाकल पूर्ति तथा दर्शनका लागि आउने गर्दछन्। यहाँ व्रतवन्ध, विवाहलगायतका कार्यहरू देवीलाई साक्षी राखेर गरिन्छ।

कालिगण्डकी नदीबाट जल ल्याएर मन्दिर परिसरमा निर्माण गरिएको नौधारा, पानीका धारा, शौचालय, र विश्रामस्थलहरुले श्रद्धालुहरुलाई थप सुविधा प्रदान गरेको छ। मालढुङ्गादेखि मन्दिरसम्मको पैदल यात्रा मार्ग समेत व्यवस्थित गरिएको छ। टाढाबाट आउने भक्तजनहरुका लागि बागलुङ बजारमा सुविधाजनक होटल र लजहरु पनि उपलब्ध छन्।

राष्ट्रिय गन्तव्यको मान्यता

संघीय सरकारले बागलुङ कालिका भगवती मन्दिरलाई नेपालका १०० पर्यटकीय गन्तव्यहरुमा सूचिकृत गरिसकेको छ। साथै, बागलुङको झोलुङ्गे पुल, बुट्टेनली तथा ढोरपाटन शिकार आरक्षजस्ता अन्य क्षेत्रहरुसँगै कालिका मन्दिरले जिल्लाको पहिचान देश-विदेशमा फैलाउन उल्लेखनीय भूमिका खेलेको छ।

कालिका भगवती मन्दिर आस्थाको केन्द्र मात्र नभई, इतिहास, संस्कृति र प्रकृतिको अनुपम समिश्रण हो, जहाँ दर्शनले मन शुद्ध हुन्छ, र आत्माले शान्तिको अनुभूति गर्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button