प्रहार समाचार | १ जेठ २०८२, बिहीबार, काठमाडौं
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल परीक्षा दिनुपर्ने भएकाले केही दिनपछि मात्र युके प्रस्थान गर्ने भएका छन्। क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले रोहितले परीक्षा सकिएपछि मात्र टोलीमा सहभागी हुने जानकारी दिएका हुन्।
स्कटल्यान्डमा हुन गइरहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ तथा त्यसअगाडि हुने तयारी खेलका लागि नेपाली टोली बुधबार बेलायत प्रस्थान गरिसकेको छ। बिदाइ कार्यक्रममा भने कप्तान रोहित सहभागी थिएनन्।

टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल भने पारिवारिक कारणले केही दिनअघि नै बेलायत गइसकेका छन्। उनी त्यहीँ नेपाली टोलीसँग जोडिनेछन् र अभ्यास सत्रमा सहभागी हुनेछन्।
टोलीमा कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन्।


























