• शंकरराज नहर्की । तनहुँ, २१ बैशाख २०८२ आइतवार । तनहुँका कुमाल समुदायको मौलिक संस्कृति पाँउदुरे नाँच पुस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्लाको व्यास नगरपालिका वडा नं. – ९, कलेस्ती कुमाल गाउँमा गत सोमबारबाट सुरु भएको उक्त कार्यक्रमको आज एक कार्यक्रमका बिच समापन गर्दै व्यास नगरपालिकका उपप्रमुख इन्दिर दरैले आफ्नो संस्कार संस्कृतिको संरक्षणमा नयाँ पुस्ता लाग्नु पर्ने बताउँदै महिलाहरु आर्थिक रूपमा सवल हुन सिपमूलक तालिममा सहभागी भएर स्वरोजगरमा लाग्न आग्रह गरिन्।

कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडा अध्यक्ष सुरेश थापाले संस्कृति लोप भए पहिचान लोप हुने र पहिचान लोप भए अस्तित्व नै सकिने भएकाले संस्कृतिलाई जीवन्त राख्न पुस्तान्तरण गरिनु जरुरी रहेकोमा जोड दिए ।

अहिलेका पुस्ताले पाउँदुरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको सहयोग गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले बताए । कुमाल समुदायको आफ्नो मौलिक संस्कृति संरक्षण गर्दै आय आर्जन तर्फ लाग्दै आगामी पिढिलाई यस्ता लोप हुन लागेका संस्कृतिको जगेर्ना गर्ने तर्फ लाग्न पनि आचार्यले आग्रह गरे । उनले सामाजिक विकास कार्यालयले जिल्लामा रहेका कुमाल, मुस्लिम, दरै ,महिला, एकल महिला लगायतको उत्थान सङ्गै आय आर्जन तर्फ लाग्ने कार्यमा काम गर्ने बताए । प्रमुख आचार्यले आगामी दिनमा पनि कार्यलयले निरन्तर रूपमा समाज रुपान्तरणमा देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल कुमाल समाजकका केन्द्रीय कोषाध्यक्ष राम मायाँ कुमाल, कुमाल समाज महिला अध्यक्ष सरु कुमाल लगायतले संस्कार संस्कृतिको संरक्षण गर्दै आय आर्जनमा लाग्न जोड दिए ।

अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख जाति कुमाल समुदायको आर्थिक सशक्तीकरण तथा सचेतना अभिवृद्ध कार्यक्रम अन्तर्गत कुमाल समुदायको मौलिक संस्कृति पाङ्हुरेनाच प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कुमाल समाज नेपाल तनहुँका अध्यक्ष लोकबहादुर कुमालले समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँ र घिरिङ गाउँपालिकामा विशेष पर्वमा नचाउने गरिने जानकारी दिँदै यो नाचको आफ्नै छुट्टै विधि भएकाले प्रशिक्षण प्रदान गर्नु परेको उल्लेख गरे । कुमालका अनुसार नाचका विभिन्न चरण हुने गर्दछ । रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ । रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । गीतको शैली फरक–फरक भएतापनि भाव एउटै हुन्छ ।

नेपाली मौलिक संस्कृति र कुमाल जातिको संस्कृतिसँग जोडिएको पाउदुरे नाचलाई पुर्नजीवित गराउन आफूहरू जुटेको व्यास नगरपालिका–१० अधँरीभन्ज्याङ निवासी रीता कुमालले बताइन् । एक हप्ते उक्त पुस्तान्तरण कार्यक्रममा कुमाल समुदायहरुको भाषा, संस्कृति, रितिरिवाज, चाडपर्व, परम्परा, मूल्य, मान्यता आदिको प्रशिक्षण प्रदान गरिने जनाइएको छ। उक्त कार्यक्रममा कुमाल समुदायमा व्याप्त रहेको अशिक्षा अन्धविश्वास, विकृति, विसंगतिहरुको निराकरण गर्न, आत्मनिर्भर र स्वावलम्वी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुमालले बताए ।

जिल्लाको विभिन्न भु-भागमा छरिएर बसोबास गर्ने कुमाल समुदायहरुलाई एउटै थलोमा जम्मा गरेर उत्त पुस्तान्तरण कार्यक्रममा दल बहादुर कुमालले प्रशिक्षक प्रदान गरेका थिए । जिल्लामा भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । यस्तै जिल्लामा कुमाल समुदायको जनसङ्ख्या ८ हजार ७ हजार २७ रहेको तत्याङ्कमा उल्लेख छ।

त्यस अबसरमा प्रशिक्षलाई सम्मान पत्र र सहभागी हरुलाई प्रमाणपत्र प्रदान गएको कार्यक्रमका सहजकर्ता जिल्ला सचिव सिता कुमालले बताईन् ।
























