• विजय अधिकारी ( प्रहार संवाददाता )। लमजुङ, २१ बैशाख २०८२ आइतवार । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य,संस्कृतिहरू रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले उक्त कुरा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर-६, पुस्तुन बाहुनडाँडामा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पूर्णकदको शालिकको आज अनावरण गर्दै बताएका हुन्। राष्ट्रकवि घिमिरेको जन्मस्थानमा बनेको पार्क र शालिकले यस क्षेत्रको महत्व र गरिमा बढ्नुको साथै समग्र भाषा साहित्य प्रेमीका लागी आकर्षक गन्तव्यस्थलको रूपमा विकास हुने राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपतिले यही सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भएको र नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल भएको धारणा राख्दै भाषा, साहित्य,संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य रहेको बताए ।

“प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ।” राष्ट्रपति पौडेलले भने ।
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना तथा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले राष्ट्रकवि घिमिरेको साहित्यिक योगदानको चर्चा गरेका थिए भने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले राष्ट्रकवि माधव घिमिरे,वीर भक्ति थापा र भूगोलविद् हर्क गुरुङ जस्ता मुर्धन्य व्यक्तिहरूको जन्मले पालिकाको छुट्टै महत्त्व र विशेषता रहेको बताएका थिए ।

राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट २० लाख,गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालय बाट ४ लाख र मर्स्याङ्दी गाउँपालिका बाट ३ लाखको सहयोगमा पार्कको संरचना निर्माण गरिएको प्रहार समाचारलाई जानकारी दिए ।

उनका अनुसार-उद्यानमा राष्ट्रकविको जीवन दर्शन,साहित्य साधना र राष्ट्रिय योगदानको प्रतीक राखिएको र राष्ट्रकवि घिमिरेले बाल्यकालमा खेल्ने, बस्ने गरेको उपलटाउको चौतारा संरक्षण समेत भइरहेको बताए ।

नेपाली साहित्यमा गम्भीर साधनारत रहेका राष्ट्रकवि घिमिरेले कविता, गीत, गीतिनाटक, निवन्ध, नाटक, बालसाहित्य लगायत विधामा विशिष्ट योगदान दिनुका साथै जीवनकालभरि उनले साहित्य सेवा मार्फत राष्ट्रिय भावनालाई सशक्त बताएका थिए । उनका गौरी, मालतीमङ्गले,राजेश्वरी,अन्तरक्रिया, भारती, सकुन्तला लगायत कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् ।

राष्ट्रकवि माधव घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको मर्स्याङ्दी-६, पुस्तुन बाहुनडाँडामा भएको थियो ।
























