प्रहार समाचार । तनहुँ, २६ चैत २०८१ । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर १ करङकाठमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा एक दिने लागू औषध दुर्वेसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

समुदायमा लागू औषध दुर्वेसनी न्यूनिकरण गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गर्दै पूर्व प्रहरी संगठनका अध्यक्ष एवं नार्कोनन् नेपालका अध्यक्ष पूर्व प्रहरी वरिष्ट उपरिक्षक वसन्त राज कुंवरले विश्वमा ३५ सय प्रकारका लागू औषध भएको चर्चा गर्दै निन्द्रा नलाग्ने, खोकी, एलर्जी, डिप्रेसन , पेनकिलर लगायतका लागू औषध नै भएकाले डाक्टरको सल्लाह बेगर प्रयोग गर्न नहुने बताए ।

उनले भने ‘हरेक परिवारले आफ्ना छोरा छोरीहरु दुब्लाउँदै गएमा, राति ढिलो सुत्ने बिहान अबेरसम्म सुत्ने भएमा, पढाईमा कमजोर हुँदै गएमा, व्यवहार आनीबानीमा परिवर्तन भएमा तुरुन्त पिसाब जाँच गराएको खण्डमा दुर्व्यसनी पत्ता लाग्ने बताए ।

कुंवरले भने -‘ खाएकालाई खान नदिने, लागू औषध खाएकालाई चिन्ने, चिनेकोलाई उपचार बाट फर्किएकालाई पुनःस्थापित गरि रोजगारमूलक तालिम प्रदान गर्ने तथा लागू औषध बेचबिखन गर्नेलाई कारवाहि गरेको खण्डमा यो नियन्त्रण गर्न सकिन्छ।’

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राजेश्वर हड्खलेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्द पन्थले स्वागत र सह सचिव हरि कार्कीले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सहायक प्रहरी हवल्दार प्रकाश रानाभाट, महिला स्वयंसेविकाहरू, पूर्व प्रहरीहरु, समाजसेवी, सामुदायिक आमा समूह , सामुदायिक टोल विकास समितिका पदाधिकारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


























