प्रहार समाचार । तनहुँ, १० चैत २०८१ आइतवार । विश्व मौसम विज्ञान दिवस आज विभिन्न कार्यक्रमकासाथ विश्वभर मनाइँदै छ।

जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस मनाइँदै छ ।सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा हरेक वर्ष २३ मार्चमा यो दिवस मनाउन थालिएको हो ।
प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकोमा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम न कम गर्न विभिन्न सूचनाहरु प्रवाह गर्ने काममा प्राथमिकता दिन थालेको छ। पछिल्लो समय विश्व नै जलवायु परिवर्तनको चपेटामा परेको छ। सुन्दर हिमालहरु काला पत्थरमा परिणत हुँदै जान थालेको छ भने सम्पूर्ण प्राणी, चराचर जगतको साझा बासस्थान पृथ्वी दिन प्रतिदिन प्रदुषणको चपेटामा परेको छ।

























