• विजय अधिकारी (संवाददाता ) लमजुङ, १६ कागुन २०८१ शुक्रवार । लमजुङमा बंगुरमा अफ्रिकन स्वाइन फिभर फैलिन नदिन प छिमेकी जिल्लाबाट सुँगुर, बंगुर र बंगुरको काँचो मासु आयातमा कडाइ गरिएको छ ।

छिमेकी जिल्लाहरु तनहुँ, कास्की, स्याङ्जा लगायतका विभिन्न जिल्लाका विभिन्न ठाउँमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले कडाइ गरेको बताएको छ ।
लमजुङ प्रवेश नाकाहरुमा प्रहरी खटाएर यसको निगरानी गरेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले प्रहार समाचारलाई जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार-सुँगुर, बंगुरमा लाग्ने यो रोग पोहोर-परार लमजुङमा लागेको कारण प्राणघातक रोगको रोक थामका लागि यो कदम चालिएको हो । ” ‘यहाँको सुँगुर–बंगुरलाई जोगाउन र बंगुरपालक किसानको लगानीलाई जोगाउन हामीले सुँगुर, बंगुर र काँचो मासुमा निगरानी बढाएका हौ।’ – प्रजिअ गुरुङले भने । हालसम्म यो रोग लमजुङका बंगुरमा नदेखिएको र क्षति नपुगोस् भनेर निगरानी बढाएको बताए ।
उनले भने-बाहिरी जिल्लामा सुँगुर र बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएकोले यो रोगको समयमै रोकथामका लागि बाहिरी जिल्ला सुँगुर र बंगुर र काचो मासु ओसार-पसार गर्दा अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ओसार-पसार गर्नुपर्ने बताए ।
























