हेडलाईनसमाचारबन्दीपुरगण्डकीप्रदेश

देशभरका साहित्यकार तनहुँको बन्दीपुरमा : राष्ट्रिय साहित्यकार / सिर्जना सम्मेलन जारी

प्रहार समाचार । तनहुँ, १४ फागुन २०८१ बुधवार । तनहुँको पुरानो सदरमुकाम तथा पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा तीन दिने राष्ट्रिय साहित्यकार / सिर्जना सम्मेलन जारि रहेको छ।
बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउनको लागि तथा समग्र बन्दीपुरको सुन्दरतालाई साहित्यकारहरुको लेखनी  मार्फत स्वदेश तथा विदेशमा  प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनको दोस्रो दिनको हिंजो  वरिष्ट साहित्यकार द्ववारिकालाल श्रेष्ठले उद्घाटन गरे ।


 

सो अवसरमा श्रेष्ठले सम्मेलनले बन्दीपुरको विकास र प्रचारका लागि मात्र नभएर सिङ्गो नेपाली साहित्यको विकासमा नयाँ उचाई थपिएको बताए ।

गोरखापत्र संस्थान र पदमा पुस्तकालयको सयुक्त आयोजनमा भएको सम्मेलनमा  अधिकांश साहित्यकारहरूले बन्दीपुरको सौन्दर्यका बारेमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वरिष्ट गजलकार डा. ज्ञानुवाकर पौडेल, पद्मावती सिंह, डिल्लिराम मिश्र, विमल भौकाजी, चन्द्र प्रसाद न्यौपाने, तिलक लुईटेल, जेठा बैरागी, नारायण पोखरेल,  डबल महतारा, भिम बहादुर फडेरा, भरत ढकाल, मुकुन्द पौडेल, बाबुराम पाण्डे, चन्द्रमणी अधिकारी, गिता सुवेदी नेपाल, टिका भट्टराई सुवेदी, सागर उदास,भानुप्रकाश जोशी, विद्या ढकाल, शंकरराज नहर्की ‘विवश’, यज्ञलाल सुवेदी, भिष्मकुमार श्रेष्ठ, अमरराज नहको ‘अजर’, गोवर्धन भट्टराई, राज रजक , विमुन्स पौडेल, रवि किरण, बिन्दु अधिकारी ढकाल लगायत दर्जनौं साहित्यकारहरुले बन्दीपुरको बारेमा आफ्ना सिर्जना वाचन गरेका थिए ।

सम्मेलनको अवसरमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस सम्मेलनले बन्दीपुरको पर्यटन व्यवसाय थप उचाइमा पुग्ने विश्वास लिए । उनले छिट्टै बन्दीपुरमा बन्दीपुर प्रज्ञा प्रतिष्ठान गठन गरिने बताए । अध्यक्ष थापाले बन्दीपुरको पर्यटन, प्रकृतिले दिएको भौगोलिक विविधता र संस्कृतिलाई जोगाउँदै विविधयुक्त बन्दीपुर बनाउने अभियान गाउँपालिकाले काम थालेको बताए । 

कार्यक्रममा  बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष चिजकुमार श्रेष्ठ, लेखक नमस्तेलाल भूमिलगायतले  बन्दीपुरको प्रचार प्रसार गरी पर्यटकीय स्थलको विकास गरेको उल्लेख गर्दै आफ्नो ठाउँको विकास आफैँले गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको स्मरण गरे ।   

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानले नेपाली पत्रकारिता र साहित्यको विकासमा ठुलो योगदान दिएको स्मरण गरे ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले रचना प्रकाशन गरेर मात्रै हुँदैन र स्रष्टा र ठाउँलाई जोड्न तथा समाजको चेतनास्तर उकास्ने उद्देश्यले सम्मेलन महत्वपूर्ण रहेको बताए ।

गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले देशभरिका सर्जकहरू भेला भएर सुन्ने अवसरले गर्दा आफ्नो क्षमता सुधार गर्न र साहित्य सिर्जना गर्न थप उत्साह प्राप्त हुने विश्वास व्यक्त गरे । कार्यक्रममा दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाको उपस्थिति रहेको थियो । 

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले बन्दीपुरलाई साहित्यको माध्यमबाट देश विदेशमा परिचय गराउन टेवा पुग्ने बताए ।

साहित्यकार/ सृजना सम्मेलनका संयोजक तथा बन्दीपुरस्थित पद्म पुस्तकालयका अध्यक्ष सुर्दशन प्रधानले देशैभरिका साहित्यकारहरूले बन्दीपुरको सौन्दर्यको बारेमा लेखुन् र यहाँको सुन्दरता देश विदेशमा पुगोस् भन्ने उद्देश्य राखेर सम्मेलनको आयोजना गरिएको बताए ।

साहित्यकारहरुले लेखेपछि बन्दीपुरमा थप पर्यटक भित्रिने अपेक्षा गरिएको प्रधानको विश्वास छ। प्राकृतिक, सामाजिक र सांस्कृतिक, मौलिक र विविधता युक्त बन्दीपुरलाई आँखाले देखेर, कुरा सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भनेर सम्मेलन गरिएको पुस्तकालयका संरक्षक डा.नमस्तेलाल भूमी श्रेष्ठले जानकारी दिए ।

राजा महेन्द्र बन्दीपुरको सौन्दर्यबाट मोहित भएर गीत लेखेको स्मरण गर्दै भूमीले  साहित्यले ठाउँ चिनाउन ठुलो महत्त्व राख्ने बताए । राजा महेन्द्रले ठाउँ विशेषको बारेमा बन्दीपुर र रारातालको सौन्दर्यको मात्रै गीत लेखेको उल्लेख गर्दै श्रेष्ठले भने – ‘कथा, गीत, कविता, निबन्धलगायतमा बन्दीपुरको बारेमा लेखियोस् भनेर सम्मेलन गरेका हौं ।’

बन्दीपुरको पर्यटन प्रवर्धनका लागि उत्कृष्ट रचनालाई मधुपर्कमा छापिने आयोजकले जनाएको छ । मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित हुनेछ । 

साहित्यकार सम्मेलनको प्रायोजक बन्दीपुर गाउँपालिका र सहप्रायोजक कुन्ती स्मृति प्रतिष्ठान रहेको छ । सहयोगी संस्थाहरू क्षेत्रीय होटल सङ्घ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, रेवान तनहुँ, बन्दीपुर पर्यटन विकास समिति, प्राकृतिक पर्यावरण संरक्षण मञ्च छन् । 

कार्यक्रममा बन्दीपुर गाउँ पालिकाका उपाध्यक्ष पञ्चमायाँ गुरुङले सबैलाई स्वागत गर्दै बन्दीपुरको सौन्दर्यतालाई बचाई राख्नु सबै बन्दीपुरेहरुको दायित्व रहेको बताइन्।

त्यस अवसरमा बन्दीपुरस्थित पद्मा पुस्तकालय स्थापनामा मद्दत गर्ने राजकुमार पिया, राजकुमार प्रधान, रेशमलाल श्रेष्ठ, मथुरालाल प्रधान र चीज कुमार मिश्रलाई सम्मान गरिएको थियो ।

यस्तै बन्दीपुर गाउँपालिकाका पूर्व शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । फागुन १२ देखि १४ गतेसम्म गरी तीन दिने सम्मेलनले बन्दीपुर भ्रमण वर्ष–२०२५ मा पर्यटक थप वृद्धि हुने अपेक्षा आयोजकको छ ।

आँखै अगाडी देखिने लोभ लाग्दो हिमशृङ्खलाहरू, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङ्ग आरोहण यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रविन्दु बनेका छन्। साहित्यकार/ सिर्जना सम्मेलनले सिङ्गो देशको ध्यान आकृष्ट गराएको आयोजकले बताएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button