• शंकरराज नहर्की । तनहुँ, ८ चैत २०८१ बिहीवर । तनहुँको शुक्ला गण्डकी नगरपालिकामा भोलि फागुनको ९ गतेबाट २० गतेसम्म सञ्चालन हुने चौथो शुक्ला गण्डकी महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ। तस्विरहरु : प्रहार अनलाईन मिडिया

‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्ला गण्डकी महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ शुक्ला गण्डकी उद्योग वाणिज्य संघको आयोजनामा सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक समुन्द्र राम श्रेष्ठले बताए ।

महोत्सवको तयारी लगायतका बारेमा जानकारी दिने उद्देश्यले आज शुक्ला ५, भानुभक्त क्याम्पस हातभित्र निर्माण भएको महोत्सव स्थलको मुख्य मञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले महोत्सव सम्पूर्ण शुक्लागण्डकी नगरपालिकामा बस्ने आम नागरिकको भएको बताउँदै यस्ले सुस्ताएको अर्थतन्त्रलाई उकास्दै यस क्षेत्रको पर्यटन, कृषि, धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास लिए ।

पत्रकारहरुको एक प्रश्नको उत्तर दिंदै अध्यक्ष श्रेष्ठले महोत्सवमा शान्ति सुरक्षाको पाटोलाई भर पर्दो बनाइएकोले ढुक्क भएर महोत्सवको अवलोकन गर्न आव्हान गरे । उनले महोत्सवमा आर्थिक पारदर्शीतालाई चुस्त र दुरुस्त राखिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै वडा नं. ५ का वडाअध्यक्ष दिर्घ बहादुर थापाले स्थानीय कृषि उत्पादनको बजारीकरणमा टेवा पुग्ने बताउँदै आफू वडाको तर्फबाट महोत्सवलाई सफल पार्न लागि परेको बताए ।

कार्यक्रममा नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले महोत्सवमा स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्दै चर्चित राष्ट्रिय कलाकारहरूले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने बताए ।

फागुन २० गतेसम्म चल्ने महोत्सव शुनपा–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन हुने छ । महोत्सवमा सूचना केन्द्र , प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्य शिविर, कृषि उत्पादनका बिक्री तथा प्रदर्शन स्टल, सेवामूलक संस्थाका प्रदर्शनी कक्ष, अटो कम्पनीका सोरुम, खानाका स्टलहरु, व्यावसायिक सामग्रीका प्रदर्शनी एवं बिक्री लगायत
१ सय ७५ स्टलहरु रहने छन् ।

महोत्सवमा साँस्कृतिक झाँकी प्रदर्शनी, दगाम भुजीकोट डाँडाको अवलोकन, मिलिनियम ट्रेक, धार्मिक एवं ऐतिहासिक स्थलहरुको अवलोकन, पालिका स्तरीय भलिबल प्रतियोगिता, कौरा प्रतियोगिता, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता लगायतका आकर्षणहरू रहने छन् ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो ।

महोत्सव अवधिभर २ लाख बढि दर्शकको सहभागिता रहने तथा ५ करोडको हाराहारीमा आर्थिक कारोवार गर्ने लक्ष्य लिएको संघका महासचिव एवं महोत्सवका प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । महोत्सवको सांसद शंकर भण्डारीले उद्घाटन गर्ने बताइएको छ।
























