प्रहार समाचार । तनहुँ, २५ माघ २०८१ शुक्रवार । तनहुँको व्यास नगरपालिका –११ सेरा स्थित वसन्त आधारभूत विद्यालयको स्वर्णजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ।

२०३१ साल माघ २६ गते स्थानीय शिक्षाप्रेमीहरु स्व. नारायणदत्त कैनी, स्व. गुणराज कैनी, स्व. रेशमलाल नहर्की, स्व. रेशम खनाल , खडानन्द कैनी, स्व. सोमनाथ कैनी, स्व. देविभद्र खनाल, याम निधि पन्थ, लगायतको पहलमा उक्त विद्यालय स्थापना गरिएको विद्यालयले जनाएको छ।
स्वर्ण जयन्ती साप्ताहिक कार्यक्रम अन्तर्गत मुख्य कार्यक्रम माघ २६ गते शनिबार स्वर्णस्तम्भको अनावरण, स्वर्ण स्मारिककाको बिमोचन, विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत, जग्गादाता, चन्दादाता, अक्षयकोष स्थापनाकर्ता, बुद्धिजीविहरुलाई समेत सम्मान गरिने भएको छ। त्यस्तै पूर्व प्रअ, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पूर्व विद्यार्थी समेतलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक माधव खनालले जानकारी दिए ।

उक्त अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने, अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा विजयी विद्यार्थीलाई पनि पुरस्कृत गर्ने समेत कार्यक्रम तय भएको छ । विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्था राम्रो रहेको र विद्यार्थीको संख्या बढाएर चाडै नै माध्यमिक तहको पढाइ सुरु गर्ने तयारी भईरहेको प्रअ खनालले बताए ।
पोल्याङ्टार नजिकैको वसन्तेपानीको पँधेरा (धारा) नजिकको चौरमा वसन्तपञ्चमीको दिन २०२९ सालमा स्थापना गरिएको, स्थापनाको पहिलो अध्यक्ष स्व. नारायण दत्त कैनी रहेका थिए ।त्यस समयमा गोठ/ छाप्रो जस्तो बनाएर लामो टहरो बनाएर पठन पाठन सुरु गरिएको कैनीले बताए । सुरुमा उक्त विद्यालयमा मनहरि खनालले शिक्षण गरेका थिए । पछि विद्यालयलाई पायक पर्ने हिसाबले हालको सेरामा स्थान्तरण गरिएको वसन्त आधारभूत विद्यालयको तीन पटक सम्म अध्यक्ष रहेका स्थानीय समाजसेवी खडानन्द कैनीले जानकारी दिए ।
स्वर्णमहोत्सवको लागि व्यास नगरपालिकाको तर्फबाट दुई लाख, स्थानीय चन्दादाताबाट समेत गरी करीव सात लाख रुपैयाँको सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पराजुलीले अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरी निजी विद्यालयको पढाइ भन्दा माथिल्लो स्तरको बनाउने प्रयास भइरहेको बताए ।
धेरै पहिला नै माध्यामिक तहको पठनपाठन भइसक्नु पर्ने थियो विविध कारणवश पुरा हुन नसकेपनि स्वर्णजयन्ती पछि अभियान चलाउने निर्णय भएको पराजुलीले थपे । शिक्षक अभिभावक संघका अध्यक्ष शारदा कुँवरले केवल शिक्षकको प्रयाशबाट मात्रै गुणस्तरीय शिक्षा नहुने हुँदा अभिभावकलाई पनि सचेत बनाएर गुणस्तर सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
पोल्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी भरतराज नहर्कीले विद्यालयले स्वर्ण जयन्ती मनाउन पाउँदा आफू हर्षित भएको बताउँदै विद्यालयले गुणस्तरलाई ध्यान दिनु पर्ने बताए ।
सेरा टोल विकास सस्थाका अध्यक्ष गोपालबहादर घर्तीले स्थानीयहरु जागरुक भएर मावि तहको कक्षा सञ्चालन हुन आवश्यकता रहेको बताए । स्वर्ण जयन्ती समारोहको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटनगर्ने भएका छन्।



























