प्रहार समाचार । तनहुँ, २३ माघ २०८१ बुधवार । रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् । लामिछाने अदालतमा उपस्थित भए सङ्गै उनका समर्थहरु चितवनमा बाक्लो सङ्ख्यामा उपस्थित भएका छन् ।

अदालतमा उपस्थित भएपछि उनको बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने छ । उनी गएराति नै स्थलमार्गबाट चितवन पुगेका थिए । लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको हो ।
लामिछानेविरुद्ध २ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता भएको थियो ।
लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडियाका ८१४ चेकमार्फत् विभिन्न ठाउँमा ४८ करोड ५८ लाख २२ हजार भुक्तानी गरेको अभियोगमा उल्लेख छ। लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६७ करोड ८७ लाख ७० हजार २२ रुपैयाँ आएको विवरण पनि अभियोगपत्रमा छ।

अध्यक्ष जीबी राई र लामिछानेको संयुक्त हस्ताक्षरका ६ वटा चेकबाट ६० लाख १९ हजार रुपैयाँ अन्यत्र भुक्तानी भएको उल्लेख छ। साहारामा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको देखिएको छ ।
नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ र गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट– १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ ।- लोकान्तरबाट


























