• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, २३ माघ २०८१ बुधवार । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेललाई पितृशोक परेको छ । उनका पिता तिलकबहादुर पौडेलको ९८ वर्षको उमेरमा हिंजो निधन भए सँगै मन्त्री पौडेल शोकमा परेका हुन् । पौडेल लामो समय देखि श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रसित थिए ।

स्वर्गीय पौडेल लमजुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष थिए । यस्तै मर्स्याङ्दी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, जनविकास मा.वि. बेसीशहरको संस्थापक अध्यक्ष, रेडक्रस लमजुङको संस्थापक अध्यक्ष लगायत दर्जनौं संघ संस्थामा उनको आबद्धता रहेकाे थियो ।
तत्कालीन बेसीशहर गाउँ पञ्चायतको तीन कार्यकाल प्रधानपञ्च, ईलाका लमजुङ क्षेत्र न. ०१ को क्षेत्रीय अध्यक्ष, जिल्ला पञ्चायत सदस्य हुँदै कार्यवाहक जिल्ला पञ्चायत सभापति, विश्वहिन्दु महासंघ लमजुङको पूर्वअध्यक्ष, हाल नेपाली काङ्ग्रेस क्रियाशील सदस्य जस्ता विभिन्न सामाजिक एवं राजनैतिक संघ-संस्थामा समेत उनको सक्रिय सहभागीता थियो ।
लामो समय समाज सेवामा सक्रिय स्वर्गीय पौडेलको पार्थिव शरिरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति एवं गण्डकी प्रदेशका माननीय आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ, पुर्व सभापति एवम् संबिधान सभा सदस्य चन्द्र बहादुर कुँवर, सांसद पार्वती तामाङ, पुर्ब सभापति तुलसी नारायण श्रेष्ठ, गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरि प्रसाद बराल, प्रदेश कार्य समिति सदस्य बिष्णुमाया धिताल, पार्टीका पदाधिकारी, नगर एवं पालिकाका नगर प्रमुखहरु,नगर सभापति, वडा सभापतिहरुले सामुहिक रुपमा पार्टीको चारतारे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जील अर्पण गरेका थिए ।

पौडेलको पार्थिव शरिरलाई शव यात्रापछि
धार्मिक परम्परा अनुसार कर्मदा (मर्स्याङदी) नदी किनारमा रहेको घाटमा अन्तिम संस्कार गरिएको थियो ।
स्वर्गीय पौडेलको पार्थिव शरिरमा छोराहरु भेषबहादुर पौडेल र डा. राजेश पौडेलले दागबत्ती दिएका थिए ।
स्वर्गीय पौडेलका जेठा छोरा भेषबहादुर पौडेल गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री हुन् भने कान्छो छोरा डा. राजेश पौडेल भैरहवा स्थित अस्पतालमा चिकित्सक रहेका छन् । स्वर्गीय पौडेलका ६ छोरी छन् ।


























