प्रहार समाचार । तनहुँ , १८ माघ २०८१ शुक्रवार । पृथ्वीराजमार्ग सडक अन्तर्गत आँबुखैरेनी गाउँ पालिका वडा नं १ सत्रसयमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोक निवासी २२ वर्षीया सुमिना सापकोटा रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख २९९९ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडक छेउको कल्र्भडमा पल्टन जाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उक्त बस दुर्घटनामा परि जिल्ला कैलाली जोशीपुर गाउँपालिका–२ बस्ने २३ वर्षीया लक्ष्मी बनादी, बसबरीया–५ धनगढी निवासी बर्ष २२ की अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षिय किसान बिक, व्यास–१२ निवासी बर्ष १९ का सुनिल बिक, व्यास निवासी बर्ष १३ की आस्था काफ्ले,भानु–१० निवासी बर्ष ५० का खेमराज लौडारी, सोही वडा निवासी बर्ष १७ का प्रशान्त लौडारी घाइते भएका छन् ।
त्यसैगरी, कास्की पोखरा महानगरपालिका–८ बस्ने बर्ष २२ की आयुषा पौडेल, गोरखा सिरानचोक–४ निवासी बर्ष ५१ का सुनिल ढकाल, सोही वडा निवासी बर्ष ४२ का रामशरण कुँवर, गोरखा शहीद लखन गाउँपालिका–२ निवासी घर भइ हाल बन्दीपुर–१ निवासी बर्ष ५९ का उज्वल विक, लमजुङ बेशीशहर–३ निवासी बर्ष ४१ का कृष्णबहादुर पाण्डे र आँबुखैरेनी–३ बीच बजार निवासी बर्ष ४२ का दमन्ती माया नेपाल घाइते भएका छन् ।
घाइते भएकाहरुको आँबुखैरेनी अस्पताल र चितवन नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उनिहरुको अवस्थाको बारेमा भने प्रहरीले खुलाएको छैन् ।


























