प्रहार समाचार । तनहुँ, १७ माघ २०८१ बिहीवार । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशको आयोजनामा तीन दिने अभ्यासवर्ग तनहुँको दमौलीमा सुरु भएको छ ।

पराशर ऋषिको तपोभूमि पराशर आश्रम परिसरमा आजबाट सुरु भएको अभ्यासवर्गको उद्घाटनगर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले विद्यार्थीहरुलाई शिक्षामा ध्यान, योग, सकारात्मक सोच सहितको शिक्षा प्रदान गर्नु पर्ने बताए । प्रजिअ थापाले भने- ‘ राष्ट्र , राष्ट्रियता , संस्कार र संस्कृतिको संरक्षणमा लाग्नु पर्छ भन्ने संस्कारी शिक्षा अहिलेको आवश्यकता हो।’

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीले विद्यार्थीहरुको जीवनमा अनुशासनले ठूलो महत्व राख्ने बताउँदै एउटा असल र नैतिकवान विद्यार्थीले नै भोली देशका लागि राम्रो काम गर्ने बताए ।

परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपिनाथ कंडेलले परिषद् शिक्षाविद्, शिक्षक र विद्यार्थीहरुको साझा संगठन भएको चर्चा गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षा तथा न्यायपालिकामा दलीय भाग बण्डा र राजनीतिक हस्तक्षेप बन्द गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष दिपक रेम्मी, गण्डकी प्रदेश सचिव दिप्सन गुरुङ लगायतले वर्तमानका साझेदार र भविष्यका कर्णधार विद्यार्थीहरुलाई देशको माटो सुहाउँदो शिक्षा प्रदानगर्दै शिक्षा क्षेत्रलाई राजनीतिले ध्वस्त पारेकोले शिक्षालाई राजनीति भन्दा माथि राखेर गुणस्तरिय शिक्षा प्रदान गर्न सके मात्र देशको सुधार हुने बताए ।

उक्त तीन दिने अभ्यासवर्ग कार्यक्रममा व्यासका अध्येता काशीनाथ न्यौपाने, समाजसेवी डाक्टर रघुनाथ न्यौपाने, परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, पराशर संरक्षण समितिका अध्यक्ष सत्यप्रसाद खनाल, अनुसन्धान प्रमुख नन्दन श्रेष्ठ, व्यवस्था प्रमुख भाग्यशाली ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

अभ्यासवर्गमा गण्डकी प्रदेशका ११ जिल्लाका ७२ विद्यार्थीहरुको सहभागीता रहेको व्यास नगर एकाई समितीका नगर सचिब आकाश बि.क ले जानकारी दिए ।

कार्यक्रमको सहजिकरण गैडाकोट नगर संगठन सचिव महेन्द्र ढुङ्गानाले गरेका थिए । अभ्यास वर्ग १९ गते शनिवारसम्म चल्ने बताइएको छ।


























