प्रहार समाचार । तनहुँ, २६ माघ २०८१ बुधवार । तनहुँको व्यास नगरपालिकाद्वारा सहिद दिवसको अवसरमा आज आयोजित चौथो व्यास नगर खुल्ला महिला हाफ म्यारथन २०८१ को उपाधि रोल्पाकी आस्मा बि. क .ले जितेकी छिन् ।

बि . क.ले निर्धीरित २१ किमी को दुरी १ घण्टा ५७ मिनेट ३४ सेकेन्डमा पार गरि प्रथम हुन सफल भएकी हुन् । जित संङ्गै उनले नगद ४१ हजार ८१ प्राप्त गरिन् ।

व्यास नगरपालिका–३ दमौलीस्थित व्यास गुफा देखि व्यास नगरपालिका- ११, को ऐतिहासिक तनहुँसुरसम्म को दुरीको उक्त प्रतियोगितामा ओखलढुङ्गाकी लक्पा डिङ्मा शेर्पाले २ घण्टा ४ मिनेट ५३ सेकेन्डमा पार गरी दोस्रो भए सङ्गै ३१ हजार ८१ हात पारिन् । यस्तै काठमाडौंकी बिमला तामाङ तृतीय भई २१ हजार ८१ प्राप्त गरिन् । उनले उक्त दुरी २ घण्टा १२ मिनेट ३८ सेकेन्डमा पूरा गरेकी थिइन् ।

त्यस्तै व्यास नगरपालिका–१० की नम्रता गुरुङ, व्यास नगरपालिका–४ की सन्ध्या अधिकारी, व्यास नगरपालिका–१४ की अस्मिता थापा, व्यास नगरपालिका–३ की सङ्गीता रानाभाटा र व्यास नगरपालिका–११ की युना मजकोटी सान्त्वना भए । उनिहरुले जनही ११ हजार ८१ रुपैया प्राप्त गरे ।

महर्षी वेदव्यासको जन्मभूमि, पराशर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुर दरबारको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने तथा खेलाडीलाई हौसला प्रदान गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताका विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै लगायतले सयुक्त रूपमा तनहुँसुरमा नगद तथा प्रमाणपत्र प्रदान गरेको व्यास नगर खेलकुद समितिका संयोजक जिवन गुरुङले बताए ।

यस अघि प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्य जीतप्रकाश आलेले उद्घाटन गरेका थिए ।



























